अमेरिका निवासी अधिवक्ता खगेन्द्र जीसी सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्षमा निर्वाचित
पेन्सिलभेनिया,अमेरिका / अमेरिकाकमा लामो समय देखि क्रियाशिल सुपरलयर खगेन्द्र जीसी सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्षमा चयन भएका छन्।
सोसलिस्ट इन्टरनेशनल विश्वभरीका समाजवादीहरुको साझा संस्था हो। स्पेनको म्याड्रिडमामा जारी सोसलिस्ट इन्टरनेशनलको महाधिवेशनले जीसीलाई उपाध्यक्ष चयन गरेको हो। तीन दिने महाधिवेशनले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
नोभेम्बर २५ तारिक शुक्रवार देखि शुरु भएको महाधिवेशन आइतवार समापन हुने छ।
जीसी नेपाली काँग्रेसको विदेश स्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्वअध्यक्षको हैसितमा महाधिवेशनमा भाग लिएको जनाइएको छ। जीसी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पूर्व अध्यक्ष समेत हुन्।
सोसलिस्ट इन्टरनेशनलमा यस अगाडि नेपाली कांग्रेसका पूर्व समापति तथा पूर्व प्रधानमन्त्री बि पी कोइराला र वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा उपाध्यक्ष भइसकेका छन्।
यस पटकको सोसलिस्ट इन्टरनेशनलको महाधिवेशनमा जीसीका साथै नेपाली कांग्रेस महासमितिका पूर्व सदस्य वेद प्रसाद खरेलले भाग लिएका छन्।
नेपाली काँग्रेस सोसलिस्ट इन्टरनेशनलको सदस्य रहदै आएको छ । महाधिवेशनको क्रममा जीसी र खरेल सँग भएको भेट र छलफलका क्रममा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोना महामारीका बेलामा नेपाललाई गरेको सहयोगको बारेमा समेत उल्लेख गरेको महाधिवेशनमा सहभागी बेदप्रसाद खरेलले जानकारी दिए ।
भौगोलिक सन्तुलन र लैङ्गिक सन्तुलन सुनिश्चित गर्नको सोसलिस्ट इन्टरनेशनलका अधिकतम छत्तीस उपाध्यक्ष हुन सक्छन् । तर उम्मेदबारी भने ४५ जनाको परेको थियो । मध्यपूर्व र एसिया प्यासेफिकक्षेत्रबाट ८ जनाको उम्मेदबारी परेको थियो । यसभन्दा अगाडि सोसलिस्ट इन्टरनेशनलमा ३१ जना उपाध्यक्षहरु रहेका थिए ।हाल बिधान संशोधन गरेर ३६ जना बनाइएको थियो ।
प्रत्येक क्षेत्रलाई समानुपातिक रूपमा उपाध्यक्षको संख्यामा बाँडफाँड गर्न सबैभन्दा ठूलो औसत लार्जेस्ट एभरेज विधि प्रयोग गरिएको थियो । यो प्रणाली धेरै देशहरूमा संसदीय सीटहरू बाँडफाँड गर्न प्रयोग गरिन्छ।
५० वर्षीय पेड्रो सान्चेजले ग्रीसका पूर्व प्रधानमन्त्री जर्ज पापान्ड्रेउबाट विश्वभरका १३२ राजनीतिक दलहरूको समूह रहेको सोसलिस्ट इन्टरनेशनलको प्रमुखको रूपमा कार्यभार ग्रहण गरेका छन्। महाअधिवेशनमा विश्व भरिका ११७ देशका ३५० जनाको सहभागिता छ ।
सन् २०१४ देखि स्पेनको समाजवादी पार्टीको नेतृत्व गर्ने सान्चेज निर्विरोध निर्वाचित भएका हुन् । घानाकी बेनेडिक्टा लासी सोसलिष्ट इन्टरनेशनलको पहिलो महिला र अस्वेत महासचिव बनेकी छिन् ।
पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर्रेसले सन् २००५ मा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको प्रमुख हुनु अघि सोसलिस्ट इन्टरनेशनलको नेतृत्व गरेका थिए । र पछि सन् २०१७ मा उनी संयुक्त राष्ट्र महासचिव बनेका थिए ।
महाधिवेशनमा खगेन्द जी सी र वेद प्रसाद खरेलले नेपाली काग्रेस, लैंगिक समानता, आर्थिक अभिवृद्धिमा समाजवादीको भूमिकाका बारेमा कुरा राखेका थिए ।