अमेरिकाको टेक्सासमा मम उत्सवले दिएको सन्देश

टेक्सास, अमेरिका/ ‘सँधै नेपाली बिवाह, ब्रतबन्ध, दशैँ जस्ता एकैनासका कार्यक्रममा गएर वाक्क भएको थिएँ, आजको यो कार्यक्रम देखेपछि एकदमै नौलो र आनन्द लाग्यो।’ कार्यक्रममा सहभागी सन्तोष योगी अगाडि मुस्कुराउन्दै भन्दै थिए, ‘अरु कार्यक्रम जस्तो भाषण पनि नाइँ, जता हेर्यो जे हेर्यो रमाइलो मात्रै ।’
सन्तोष मात्र होइन गत साता (अक्टोबर ३० तारिक) शनिवार टेक्सास आर्लिंगटन स्थित लेभिट पेभिलियनमा हजारौ नेपालीले यस्तो महशुष गरेको हुनु पर्छ। जहाँ मम उत्सव भएको थियो।
“मम टू गो” कम्पनिद्वारा आयोजित कार्यक्रम भब्य र व्यवस्थित भएको अन्य सहभागिले पनि प्रतिक्रिया दिएका थिए। अमेरिकामा नेपालीले आयोजना गरेको कार्यक्रममा संभवत अहिले सम्मकै धेरै दर्शकको उपस्थिति रहेको आयोजकको दावी छ।

मम उत्सवका संयोजक प्रदिप गिरीका अनुसार कार्यक्रममा नेपाली र गैर नेपाली गरि ८ हजार भन्दा धेरै उपस्थित थिए। अपेक्षा भन्दा धेरै दर्शकको उपस्थित रहेको उनको भनाई छ।
स्थानीय नेपाली रेस्टुरेन्टहरु लाइनै सँग स्टलमार्फत म:म, चिया, सेल रोटि, पानि-पुरी, चट्पटे, सेकुवा, छोयला लगायतका परिकार पकाउँदै- बेच्दै गरेका थिए। अनि मञ्चमा गायक शिव परियारका साथै फिरोज श्याङ्ग्देन (१९७४एडी) र ब्याण्ड को प्रस्तुति थियो ।
त्यति मात्र होइन बालबालका लागि पनि आकर्षक व्यवस्था गरिएको थियो। उनीहरुका लागि बाउन्स हाउसको व्यवस्था थियो। जादुदुगार, ‘स्टिल्ट वाल्कार’, घरपालुवा जनवारको चिडियाखाना कार्यक्रमको अर्को रोचक पक्ष। म:म खाने प्रतियोगिता अर्को हेर्न लायक विषय थियो।

कार्यक्रममा गैरनेपाली समुदायको उपस्थित पनि बाक्लो थियो। निशुल्क प्रवेश रहेको मम उत्सवमा टिकट ब्यबस्थापन देखि सुरक्षा ब्यबस्थापनमा पनि राम्रो थियो। जसका कारण हजारौको भिड पनि व्यवस्थित थियो।
“सबभन्दा मिठो मम २०२२” को उपाधि स्थानीय करी लिफ रेस्टुरेन्टले जित्न सफल भएको थियो भने मम खाने प्रतियोगिता भने गैर नेपालीले जित्न सफल भएका थिए।
अनलाइनमा गएर कार्यक्रम हुनु एक दिन अघि सम्ममा टिकट लिएमा कार्यक्रममा प्रवेश निशुल्क गरिएको थियो। कार्यक्रमकै दिन टिकट लिनेको हकमा दश डलर प्रति व्यक्ति तोकिएको थियो। दिउसो २ बजे शुरु भै रति ९ बजे सम्म चलेको यस कार्यक्रमलाई पूर्णरुपमा अमेरिकी तरिकाले पूर्व निर्धारित तालिका अनुसार समयमा शुरु गरि, समयमै सक्काईएको थियो। कार्यक्रम स्थलको सजावट गर्ने, प्रवेशद्वार मा टिकेट जाँच्ने, सुरक्षाका लागि प्रहरी र सुरक्षा गार्ड लगायतका जिम्मेबारी सबै गैर नेपालीले सम्हालेका थिए।

अमेरिकी कम्पनि कोकोकोला, स्थानीय आइटि कम्पनि टेकफायोस लगायतले कार्यक्रमको प्रयोजन गरेका थिए। सहभागीहरुको भोटको आधारमा स्थानीय “करी लिफ रेस्टुरेन्ट” ले “बेस्ट मोमो अफ डल्लास २०२२” को उपाधि हात परेको थियो। त्यस्तै मोमो खाने दुवै प्रतियोगितामा गैर नेपालीले जित हासिल गर्न सफल भएका थिए।

कार्यक्रमका प्रायोजक एवं स्टल संचालक राजु क्षेत्रीले बृहत कार्यक्रमका लागि आयोजकलाई धन्यवाद दिए। ‘यो कार्यक्रमले अब अन्य नेपाली कार्यक्रम गर्नेहरुलाई पनि चुनौती थपिदिएको छ, स्ट्यान्डर्ड हाइ गरिदिएको छ।’
हुन पनि अमेरिकामा पनि नेपालीले भब्य र व्यवस्थित कार्यक्रम गर्ने हो भने दर्शकको अभाव हुदैन भन्ने सन्देश दिएको छ। यसै गरि व्यवस्थापन चुस्त हुने हो भने कार्यक्रम शान्तिपूर्ण रुपमा आयोजना गर्न सकिन्छ भन्ने पनि पाठ सिकाएको छ।





