ल्यानक्यास्टरको मिलर्सभिल विश्वविद्यालयमा देउसी-भैलो (भिडियो सहित)
ल्यानक्यास्टर, अमेरिका / अक्टोबर २० तारिक साँझ अमेरिकाको पेन्सिलभेनिया राज्य स्थित ल्यानक्यास्टरमा रहेको मिलर्सभिल विश्वविद्यालयको परिवेस अलि भिन्न थियो।
नहोस पनि किन् । सन् १८५५ मा स्थापित विश्वविद्यालयमा पहिलो पटक देउसी भैलो खेलिदै थियो।
पार्किङ्ग स्थल मै साडी र ब्लाउजमा सजिएका युवतीहरु यत्रतत्र देखिन्थे। यस्तो दृश्य विश्वविद्यालयको हल भित्र झन बाक्लो थियो। गैर नेपाली युवतीहरु पनि साडीमा सजिएका थिए।
साँझ ६ बजेका लागि सहभागिताको निम्तो दिइएको थियो। हलमा छिर्दै गर्दा व्यवस्थापन गज्जब थियो। विद्यार्थीहरु निम्तालुको स्वागत सत्कारमा कमी हुन नदिन सचेत थिए। लाग्थो उनीहरुलाई यस्तो कार्यक्रम आयोजा गर्ने बानी नै परेको छ। सबकुरा ठिक ठाँक, अनुभवि आयोजक जस्तै व्यवस्थित थियो हल।
कार्यक्रम शुरु हुनु अगाडि ‘डिनर’ अफर आयो। घडीले साँढे ६ बजाउने तरखर गर्दै थियो, दुई युवती हातमा माइक लिएर स्टेजमा उक्लिए।
समिक्षा सुवेदी र क्याथीले स्वागत मन्तब्य दिदै तिहार (दिवाली) को परिचय दिए। अनि एक पछि अर्को गर्दै नृत्य प्रस्तुत हुन थाल्यो।
त्यहाँ तिहार गीतमा नाचियो, लोक र नेपाली चलचित्रका गीतमा नृत्य गरियो। त्यति मात्र होइन विभिन्न महादेशका नृत्यको पनि प्रतिनिधित्व भयो। त्यस पछि कार्यक्रमको मुख्य आकर्षण ‘देउसी भैलो’ शुरु भयो
दौरा सुरुवाल र कालो टोपिमा सजिएका साहित्यकार दिपेश चापागाँईले देउसी भट्टाए अनि अन्य सहभागिले साथ दिए। झण्डै १५ मिनेट सम्म यो क्रम चल्यो।
यो १५ मिनेटले एक सय ६७ वर्षको मिलर्सभिल विश्वविद्यालयमा लोभलाग्दो इतिहास कोरिएको छ। नेपाली कला र संस्कृतिले विश्वविद्यालयमा औपचारिक प्रवेस पाएको छ। मिलर्सभिल विश्वविद्यालयमा पहिलो पटक देउसी भैलो खेलिएको छ।
‘रिड्ज’ (शरणार्थी,आप्रावासीहरु विकास र उत्कृष्ठतामा समर्पित) एएसआए, माराउड ग्लोबलको संयुक्त प्रयासले यो सफल भएको हो।
रिड्ज आप्रवासी र शरणार्थीहरू लागि समुदायमा काम गर्ने संस्था हो। यो संस्थामा मिलर्सभिल विश्वविद्यालयमा विद्यार्थीहरू सक्रिय छन्।
शरणार्थी र आप्रवासी विद्यार्थीलाई अन्य समुदाय समक्ष मित्रता र सामाजिक अन्तरक्रियामा रिड्जले जोड दिन्छ।
विद्यार्थीका लागि तत्काल शैक्षिक, सामाजिक,भावनात्मक र आर्थिक आवश्यकताहरूमा समुदाय र समाजमा अवसर सिर्जना गर्ने सांस्कृतिक, शैक्षिक र मनोरन्जन गतिविधिहरू संचालन गर्ने काम यो संस्थाले गर्ने गर्दछ।
आप्रवासी विद्यार्थीका संस्कृति, परम्परा र कथाहरूको पक्षमा रिड्जले वाकलत गर्ने गर्छ।
रिड्जकी उपाध्यक्ष अप्सरा उप्रेतीले आफुले विश्वविद्यालय प्रवेस गर्दै गर्दाको जस्तो अवस्था अब नहुने बताइन। ‘जब म पहिलो वर्षमा आउदा हामीलाई अरुको कार्यक्रममा गएर हाम्रो संस्कृतिका बारेमा देखाउन पर्ने अवस्था थियो तर अहिले हामी नै आयोजक भएका छौ।’
सोसोलोजिमा मास्टर डिग्रि गर्दै गरेकी उप्रेतिले भनिन्,’ अरुको कार्यक्रममा गएर कहिले सम्म हामी नेपाली विद्यार्थीले हाम्रो नाच देखाउने, हामीले सोच्यौ, त्यसो हो भने हामी आफैले किन कार्यक्रम नगर्ने, तिहारको बारेमा बुझाउनु पनि थियो।’
उप्रेतिले विश्वविद्यालय प्रशासनले पनि आफुहरुको कार्यक्रम रुचाएकाले अबका वर्षमा पनि यस्तो कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गरिन। ‘हाम्रो कार्यक्रममा आउनु भएका विश्वविद्यायका उपाध्यक्षले अर्को साल पनि गर्ने हो भनेर भन्नु भएको छ, मेरो त यो अन्तिम वर्ष हो अब नयाँ भाइबहिनाले यो कार्यक्रमलाई तिरन्तरता दिन्छन होला।’
यस्तै रिड्जकी अध्यक्ष समिक्षा सुवेदीले पहिलो पटक आयोजित कार्यक्रम सोचे भन्दा राम्रो भएको प्रतिक्रिया दिइन। ‘सार्है नै खुसी छु यति धेरै मान्छे हुन्छन भन्ने नै लागेको थिएन, धेरै मान्छे आइदिनु भयो अन्य समुदायको विद्यार्थी आएर रमाइलो माने।’
बायोलोजिमा मास्टर डिग्रि गर्दै गरेकी सुवेदीले पनि अब आउने नेपाली विद्यार्थीले यो कार्यक्रमलाई निरन्तरा दिने विश्वास व्यक्त गरिन।
सुवेदीका अनुसार अहिले मिलर्सभिल विश्वविद्यालयमा नेपाली विद्यार्थीको संख्या करिव पचास जनाको रहेको छ।
साहित्यकार तथा प्रवासी शिक्षा कार्यक्रममा कार्यरत विद्यार्थी सहयोग विशेषज्ञ दिपेश चापागाँईले विद्यार्थीहरुको कार्य सराहनीय भएको टिप्पणी गरे।
‘अहिले मिलर्सभिल विश्वविद्यालयमा अध्यानरत हाम्रै समाजका युवा नेत्रीत्ववर्ग जस्लाई कुनै समय हामीले केही मार्ग निर्देश गर्न पाएका थियौ उनीहरुले आफ्नो भाषा, धर्म, संस्कृतिको संरक्षण र विकास गर्न आयोजना गरेको कार्यक्रमले विश्वमा आफ्नो पहिचान क़ायम राखी आफ्ना भावीपिणीमा स्तान्तरण गर्न गरेको भुमीका सारै नै सराहनीय छ ।’ चापागाँईले भने।
‘यो ऊदारणीय कार्यबाट हामी सम्पुर्णले हाम्रा विद्यार्थी भाई बहिनीहरुले गरेको राम्रो कार्यक्रमलाई आत्मसात् गर्दै सबैले आफ्नो ठाउँबाट गर्न सक्ने कार्य गरेर आफ्नो भाषा, र संस्कृतिको संरक्षण गरी आफ्ना छोरा छोरीहरुलाई पनि स्थान्तरण गरौ।’
‘हामीले यो राम्रो कार्यक्रम नगरे हाम्रै समाजमा आफ्ना हजुरबा हजुरआमा र नाती नातिनी बिच कुरा गर्न / गफ गर्न अनुवादक खोज्नु पर्ने अवस्था आऊदैन भन्न सकिन्न’ चेतावनी दिदै चापागाँईले भने ‘स्वदेश होस वा विदेश, जस्तो सुकै परिवेश, वचाई राखौ आफ्नो धर्म भाषा अनी भेष’
कार्यक्रमको भिडियो