नवौं राष्ट्रिय खेलकुद : दश स्वर्ण सहित एनआरएनए आठौं, नेपाली सेना पहिलो
पोखरा । नवौं राष्ट्रिय खेलकुदमा गैर आवासिय नेपाली संघ (एनआरएनए) टिमले आठौं स्थान पाएको छ।
गण्डकी प्रदेशमा बिहिवार सम्पन्न राष्ट्रिय खेलकुदमा एनआरएनएले दश स्वर्ण जित्दै आठौं स्थानमा टुङ्गाएको हो। एनआरएनएले नौ रजत र सात काश्य पदक पनि जितेको छ। राष्ट्रिय खेलकुदमा ११ टिमले भाग लिएका थिए।
विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लव पहिलो भएको छ। आर्मी एक सय ७२ स्वर्ण सहित तीन सय ७१ पदक जितेर पहिलो भएको हो।
नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा तीन सय ९६ स्वर्ण पदकका लागि प्रतिष्प्रर्धा भएको थियो।
त्यसमा आमी १७२ स्वर्ण पदकसहित च्याम्पियन बन्यो। राष्ट्रिय खेलकुदमा आर्मी लगातार तेस्रो पटक च्याम्पियन बनेको हो।
आर्मीले १७२ स्वर्णसहित १०९ रजत ८९ कास्य पदक गरी ३७० पदकसहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गरेको छ । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधि समेत जितेको थियो ।
६४ स्वर्ण ७३ रजत र ८१ कास्य गरी २१८ पदकसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लव दोश्रो, ६१ स्वर्ण ६१ रजत र ७३ कास्य पदक गरी १९५ पदकसहित नेपाल प्रहरी क्लव तेश्रो भएको छ ।
घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरुमध्ये पहिलो हुन सफल भयो । वागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्य गरी १२० पदक सहित समग्रमा थौचो भएको हो । वागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक गरी १४५ पदकसहित पाँचौं स्थानमा रहेको छ ।
प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य पदकसहित सुदुरपश्चिम प्रदेश सातौं रह्यो ।
गैर आवासीय नेपाली टिम (एनआरएनए) १० स्वर्ण ९ रजत ७ कास्य पदकसहित आठौं स्थानमा रह्यो। यस्तै ६ स्वर्ण २२ रजत र ४० कास्य पदकसहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ ।
मधेश प्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौ स्थानमा रहेको छ । मधेष प्रदेशले ५ स्वर्ण ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कास्य पदक जितेको हो ।