डलरको विनिमय दर हालसम्मकै उच्च
शनिबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ। शनिबार एक डलर खरीद गर्न नेपालीले झन्डै १३० रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ।
डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। नेपाल राष्ट्र बैंकले शनिबार १ डलर बराबर १२९.८९ रुपैयाँ बिक्रीदर तोकेको छ।
डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ। अर्थात भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर हुने गर्दछ ।
शनिबार १ डलर बराबर ८०.९१ भारू पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ। शुक्रबार ८०.७२ भारू थियो। भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो।