एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाको बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरी बधाई दिएका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरी खेल विकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
६ असारमा सम्पन्न एन्फाकाे चुनावी साधारणसभाबाट कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए ।
एन्फाका नवनिर्वाचित कार्यसमितिलाई कतार एफएको बधाई तथा शुभकामना
अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई तथा शुभकामना दिएको छ ।
अध्यक्षमा निर्वाचित नेमाङलाई बुधबार पत्र काट्दै कतार एफएले सफल कार्यकालको शुभकामनासहित सहकार्य गर्न तयार भएको प्रतिक्रिया दिएको हो ।
कतार एफएले पंकज अध्यक्षमा निर्वाचित भएको नौ दिनपछि बधाई शुभकामना दिएको थियो । निर्वाचनमा पंकज पक्षको बहुमत भए पनि क्लिन स्विप भने गर्न असफल भयो । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पंकज समूहबाट निर्वाचित भएका थिए ।
हाल कतार एफएले नेपाललाई सहिद स्मारक ए डिभिजन लिगको स्पोन्सर र नेपाली राष्ट्रिय फुटबल टोलीको कतारमा तयारी व्यवस्थासहित चोट बाकेका खेलाडीको अस्पेटार अस्पतालमा उपचार गराउन सहयोग गर्दै आएको छ ।
यस्तै, कतारले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई समेत नेपालमा अनुदानमा प्रशिक्षण दिन पठाएको छ ।