चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा छ जनाको मृत्यु
काठमाडौं । कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम)मा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित रेडियन्ट ग्यास कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी कैलालीकै कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
चट्याङ् लागेर अशक्त भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
कञ्चनपुरको पुर्नवास नगरपालिका–६ न गाउँ बस्ने ४० वर्षीय देपेन्द्र श्रेष्ठ र सोही नगरपालिका–८ क गाउँ बस्ने २५ वर्षीया शारदा थापाको आ–आफ्नो खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
रूपन्देहीको सियारी गाउँपालिका–२ च्याङठा बस्ने ४५ वर्षीय रामनाथ बरईको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका–९ स्वाठी बस्ने ६० वर्षीया मराछी चौधरीको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
रामग्राम नगरपालिका–१० लक्ष्मीपुरास्थित छोरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर अशक्त भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
१० वर्षमा ८५ जनाले गुमाए ज्यान
सुदूरपश्चिम प्रदेशमा चट्याङबाट हुने मानवीय क्षति बढ्दै गएको छ। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो १० वर्षमा मात्रै प्रदेशका ८५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन्।
सबैभन्दा बढी कञ्चनपुरमा २० र कैलालीमा १८ जनाले ज्यान गुमाएका छन् भने अछाम जिल्लामा १५ जनाको मृत्यु भएको छ। डोटीमा ८, बाजुरामा ७, बैतडीमा ६ र डडेल्धुरामा ५ जनाको चट्याङका कारण मृत्यु भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। यस्तै दार्चुला र बझाङ जिल्लामा भने ३ / ३ जनाको मृत्यु भएको छ। पछिल्लो १० वर्षको विवरणअनुसार देशभरीमै सुदूरपश्चिमका कैलाली र कञ्चनपुर धेरै चट्याङ खस्ने जिल्लाको सूचीमा छन्।
चट्याङको पूर्वानुमान गर्न मुस्किल
मौसम पूर्वानुमान महाशाखाले हरेक दिन जारी गर्ने मौसमी बुलेटिनमा मेघ गर्जन र चट्याङको सम्भावना उल्लेख गरेको हुन्छ । तर मौसमविद् बिनु महर्जनका अनुसार चट्याङबारे पूर्वानुमान गर्न सक्ने प्रविधि नेपालमा छैन। ‘चट्याङको पूर्वानुमानका लागि हामसँग प्रविधि छैन,’ उहाँले भन्नुभयो, ‘तर पनि मौसमी बुलेटिनमा हामीले सतर्कता अपनाउन आग्रह गरिरहेका हुन्छौं।’ उहाँले चट्याङबाट बच्नका लागि विद्युतीय सामग्रीको प्रयोग नगर्न र घरबाहिर ननिस्कन आग्रह गर्नुभयो। विशेष गरी वर्षाको समयमा चट्याङ धेरै पर्ने गरेको छ। बङ्गालको खाडी नजिक रहेका नेपालका भूभागमा चट्याङको जोखिम सबैभन्दा बढी रहेको छ।