एनआरएनएद्वारा महावीर पुनको केन्द्रलाई सहयोग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ।
काठमाडौं स्थित एनआरएनएको सचिवालयमा बुधवार आयोजित कार्यक्रममा बाह्र लाख सतासी हजार पाँचसय असी रुपैयाँ अड्चालिस पैसाको चेक हस्तान्तण गरियो । ।
उक्त चेक एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई हस्तान्तण गरे ।
संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मनतब्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराए ।
कार्यक्रममा डा. पुनले एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरे । विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने पुनले बताए ।
राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनु पर्ने जोड दिए । त्यस्तै एनआरएनएले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने उनले बताए ।
कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष आचार्यले विभिन्न अभियन्ताहरुबाट प्रतिबद्धता गरिएको रकम मध्ये एनआरएनएको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । त्यस्तै विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै एनआरएनएले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताए।
कार्यक्रमको सञ्चालन एनआरएनएका नेपाली संघ युरोपका क्षेत्रीय संयोजक चिन्तामणी सापकोटाले गरेका थिए।