रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन, दिए दल दर्ताका लागि आयोगमा निवेदन
काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनले बताए ।
मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताए । सोहीअनुसार उनले आफू चुनाव लड्ने घोषणा गरे ।
‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भने ।
उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए । उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए ।
देशको जुनसुकै क्षेत्रबाट उम्मेदवारी दिन्छुः रवि लामिछाने
सञ्चारकर्म छाडेर राजनीतिमा हाेमिएका रवि लामिछाने आफू देशको जुनसुकै स्थानबाट निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् ।
‘मलाई झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन लागेको छ । हार्ने सुविधा छैन् । राजनीति राजनीति जस्तै गर्नुपर्छ । सुझबुझका साथ जहाँबाट प्रतिकृया आउछ त्यहाँबाट उम्मेदवार दिन्छु’, मंगलबार राजधानीको सभागृहमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने ।
उनले अगाडि थपे, ‘एक जनालाई संसद् छिर्न म रोक्छु । अर्कोलाई रोक्न तपाइँ आउनुहोस । बेतिथीको मेन स्वीच अफ गरौँ । ’ अबको निर्वाचनमा जान्नेलाई छान्ने र त्यसको सुरुवात आफूहरुले गर्ने उनले बताए । यसैबीच, नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी प्रस्ताव गरेका छन् ।
‘यो सुशासनको घन्टी हो । भ्रष्टाचारका लागि जनाउ घन्टी हो । विकास र सुशासनको घन्टी हो ।’ चुनाव चिह्न प्रस्ताव गर्ने क्रममा उनले भने ।
राजनीतिमा गन्हाएको हिलो पखाल्न पत्रकारिता छाडेर मैदानमा आएको हुँः रवि लामिछाने
लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न आफू पत्रकारिता छाडेर राजीतिको मैदानमा उत्रिएको बताएका छन् ।
उनले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स–साना कुरामा परिवर्तन गर्न आएको बताए । उनले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताए ।
‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति विसंगति बदल्ने प्रयास गर्नेछु,’ उनले भने, ‘आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि बल्ल आफू आएको छु ।’
उनले पहिलेका दलका नेता र आफू उस्तै उस्तै देखिने गरे पनि नझुक्किन आग्रह गरे । लामिछानेले अब कुनै नेतासँग ठूला कुरा नगर्ने, नझर्कने पनि बताए ।
आफू राजनीतिमा आउन विभिन्न दलका धेरै नेतासँग कुराकानी गरे पनि त्यसलाई अब धन्यवादबाहेक अरु केही पनि नरहने उल्लेख गरे । उनले आजसम्म नेपालमा दर्ता भएका कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गरे । लामिछानेले स्वतन्त्र रूपमा आफ्नो राजनीति अघि बढाउने बताए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म
राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् ।
आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् ।
उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।
लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए ।
१. प्राइमेरी निर्वाचन हुने
२. युवालाई ५० प्रतिशत एकको व्यवस्था
३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६. परिवारवादलाई पूर्ण रूपमा निषेध
७. भ्रातृसंगठन र कार्यकर्तारहित
यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय
लामिछानेको पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । बसुन्धाराबााट पार्टीको कार्यालय सुभारम्भ भएको हो । मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय सभापति लामिछानेले शुभारम्भ गरेका हुन् ।
यो पार्टीमा २१ जना सदस्य रहेको जनाइए पनि नाम भने सार्वजनिक गरिएको छ । निवेदन दिँदै लामिछानेले नचिनिएका व्यक्तिहरु टीममा रहेको बताएका छन् ।
उनले पार्टी दर्ता प्रमाण पत्र पाएका दिन अन्य सदस्यको नामबारे जानकारी दिने बताएका छन् ।
लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन
लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् ।
निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए । एक निर्वाचन क्षेत्रमा मात्र अड्केर नबस्ने र देशभर आवश्यकताअनुसार उम्मेदवार उठाउने उनले बताए ।
उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नातावाद र परिवारवाद निषेध गर्ने बताए ।
भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरण लामिछानेको घोषणा
हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन् ।
रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गरेका हुन् । मंगलबार राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी रविले घोषणा गरेको नयाँ पार्टीले परिवारवाद निषेध गर्ने बताइएपछि हरिशरणले सो घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत हरिशरणले लेखेका छन्, ‘राजनैतिक रुपले त्यो पार्टी (‘राष्ट्रिय स्वतन्त्र पार्टी)मा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।’
सो घोषणा गर्दै हरिशरणले फेसबुकमा लेखेका छन् :
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी
नैतिक न राजनैतिक ?
नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई बधाई । पार्टीको नीतिअनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास हो । यस क्रममा मनमा लागेको एउटा रोचक कुराः
कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।
दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन । राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।
स्वतन्त्र र दलगत राजनितिका लागि म सङ्ग अपार अवसर र सम्भाबना छन् । बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन । नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहनेछ ।
‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’