अमेरिकामा सम्पन्न रिलेभेन्ट होम केयर आठौं अन्तर स्टेट क्रिकेटको उपाधि एभरेष्ट कोलोम्बसलाई
ह्यारिसबर्ग,पेन्सिलभेनिया । ह्यारिसबर्ग गोर्खाज क्रिकेट क्लबद्वारा आयोजित रिलेभेन्ट होम केयर आठौं एनुअल अन्तर स्टेट क्रिकेट प्रतियोगिताको उपाधि एभरेष्ट क्रिकेट क्लब कोलोम्बस ओहायोले जितेको छ।
ह्यारिसबर्ग स्थित कोहल मेमोरियल पार्कको मैदानमा आइतवार भएको फाइनलमा आयोजक टिमलाई सात विकेटले हराउदै एभरेष्ट क्रिकेट क्लब कोलोम्बस ओहायोले उपाधि जितेको हो।
टस जितेर पहिलो व्याटिङ रोजेको ह्यारिसबर्ग गोर्खाज निर्धारित २० ओभरमा १४ ओभर चार बलमा मात्र ३७ रन जोड्दा अलआउट हुन पुग्यो। होम ग्राउण्डमा ह्यारिसबर्ग गोर्खाका कुनै पनि ब्याट्म्यानले दोहोरो रन बनाउन सकेनन् ।
ओपनर दिपेन्द्र दंगाल पहिलो ओभरको चौथो बलमा मात्र चार रनमा पेभिलियन फर्किए। एभरेष्टका कप्तान कुल अधिकारीले कुमार बस्नेत मार्फत दिपेन्द्रलाई क्याचआउट गराएका थिए।
त्यस पछि चार ओभरको चौथो बलमा संजोक बस्नेत व्यक्तिगत ६ रनमा आउट भए। धन भण्डारीले सोही ओभरको अन्तिम बलमा भगत भण्डारीलाई शुन्यमा पेभिलियनको यात्रा तय गराए।
ह्यारिसबर्ग गोर्खाजको पारीमा सबै भन्दा धेरै रन कप्तान सुक थिङको नाममा रह्यो । १८ बलको सामना गरेका सुकले आठ रन जोडेका थिए। चौथो विकेटको रुपमा पेभिलियन फर्कनु अगाडि सुकले एक चौका प्रहार गरेका थिए।
सर्वाधिक पाँच विकेट लिएका धन भण्डारीले उदय आचार्यलाई पनि खाता खोल्न दिएनन्। बासु ढुङ्गना पाँच रनमा रमेटिदा अनिल न्यौपानेले चार र चक्र बास्कोटाले तीन रन जोडे ।
३८ रनको लक्ष्य एभरेष्टले १३ ओभर चार बलमा मात्र तीन विकेट खर्चर पुरा गर्यो । एभरेष्टक लागि सन्तोष पोखरेलले सर्वाधिक १५ रन जोडे । ३६ बलको सामना गरेका सन्तोषले अनिल न्यौपानेको बलमा विकेटकिपर खगिन धिमालद्वारा क्याच हुनु अगाडि एक चौका प्रहार गरेका थिए।
यस्तै कप्तान अनिल अधिकारी ११ रनमा अविजित रहे । १४ बलको सामना गरेका अनिलले एक चौका र एक छक्का प्रहार गरेका थिए। ओपनर दिपेश न्यौपानेले ६ र इन्द्र बस्नेतले पनि ३ रनको योगदान दिए।
ह्यारिसबर्ग गोर्खाजका बासु ढुङ्गना,अनिल न्यौपाने र दिपेन्द्र दङ्गालले एक एक विकेट लिएका थिए।
फाइनल खेलको प्लेयर अफ दि म्याच एभरेष्टका धन भट्टराई घोषित भए।
१८ टिमको सहभागितामा तीन दिन लगाएर भएको प्रतियोगितामा व्यक्तिगत विधामा पनि एभरेष्ट खेलाडि नै अब्बल भए ।
कप्तान कुल अधिकारी प्रतियोगितामा उत्कृष्ट बलर घोषित भए। उनले प्रतियोगितामा खेलेको चार खेलमा दश विकेट लिएका थिए ।
प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान पनि एभरेष्टकै सन्तोष पोखरेल भए। उनले चार खेलमा ९० रन जोडेका थिए। प्रतियोगिताको उत्कृष्ट फिल्डर एभरेष्टका कुमार बस्नेत घोषित भए।
ह्यारिसबर्गका अनिल न्यौपाने प्रतियोगिताकै उत्कृष्ट खेलाडि घोषित भए।
प्रतियोगितामा फेयर प्लेको ट्रफि ल्यानक्यास्टर क्रिकेट कल्बले पायो ।
उपाधि ट्रफि सँगै एभरेष्टले दश हजार एक अमेरिकी डलर नगद पुरस्कार पनि पायो । यस्तै दोस्रो भएको आयोजक टिमले पाँच हजार अमेरिकी डलरमा चित्त बुझायो ।