अमेरिकामा फेरि गोलीकान्ड, एक जनाको मृत्यु
लस एन्जलस। लस एन्जलस नजिकैको एउटा चर्चमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने चार जना ‘गम्भीर’ घाइते भएका छन् । न्युयोर्कको एउटा सुपर मार्केटमा भएको बन्दुक हमलाको भोलीपल्ट चर्चमा आक्रमण भएको हो । सो आक्रमणमा १० जना मारिएका थिए ।
‘चर्च हमलामा चार जना गम्भीर घाइते भएका छन्’, ओरेन्ज काउन्टी सेरिफ विभागले भनेको छ । घाइते एक जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ । घाइतेहरू सबै जना वयस्क भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
आक्रमणमा संलग्न रहेको आशंकामा एक शंकास्पद पक्राउ परेका छन् । त्यस्तै, घटना स्थलमा प्रयोग भएको अनुमान गरिएको एउटा बन्दुकसमेत फेला परेको छ ।
न्युयोर्कको सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु
न्युयोर्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । बफेलो सहरमा भएको सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई पक्राउ गरिएको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन ।
गोली हान्नुअघि शंकास्पद व्यक्ति एउटा व्यस्त सुपरमार्केटमा शनिबार दिउसो प्रवेश गरेका थिए । एफबीआईले सोे गोलीबारीलाई ‘हिंस्रक अतिवाद’ भनेको छ ।
पछिल्लो गोलीकाण्डलाई जातीय उत्प्रेरित घृणा अपराधको रूपमा अनुसन्धान भइरहेको छ । ‘हामी यो घटनालाई घृणित अपराध र जातीय उत्प्रेरित हिंसात्मक अतिवादको मुद्दाको रूपमा अनुसन्धान गर्दैछौँ’, एफबीआईको बफेलो कार्यालयका एजेन्ट स्टीफन बेलोन्जियाले भने । सहरमा अश्वेतहरूको बाहुल्यता रहेको क्षेत्रमा पुग्न ती शंकास्पदले घन्टौँसम्म सवारी चलाएको हुन सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।
१३ जनामा गोली प्रहार गरिएको थियो र उनीहरूमध्ये अधिकांश अश्वेत रहेको बफेलो प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले बताए । तीन जना घाइतेलाइ भने ठूलो चोट नलागेको प्राप्त विवरणहरूमा जनाइएको छ । सुपरमार्केटमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका एक सेवानिवृत्त प्रहरी अधिकारीले संदिग्धलाई गोली हान्न खोजेका थिए । तर, आक्रमणकारीको निशानामा उनी आफै परे ।