माधव नेपालको टिप्पणी- केपी ओलीले गफमा विद्यावारिधि गरे
चितवन । एमाले अध्यक्ष केपी ओलीले गफमा विद्यावारिधि गरेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । चितवनमा बिहीबार आयोजित सत्तारुढ गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले गफमा ओलीले विद्यावारिधि गरेको टिप्पणी गरेका हुन् ।
‘ओलीले गफमा विद्यावारिधि गरेका छन् । झुटको पुलिन्दा छर्न सक्छन् । समयमा बुझ्नु भएन भने फुर्सदमा पछुताउनु पर्ला,’ उनले भने, ‘यहि भरतपुरमा २०६२ को जनाअन्दोलनको जुलुसको अगुवाइ गरेको थिएँ । अहिले पनि केपी ओलीको प्रतिगमनविरुद्ध एकतावद्ध नभएको भए संविधान कागजको खोस्टोमा परिणत हुने थियो ।’
एमालेको आवश्यकता र औचित्य सकिएको दाबी गर्दै एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेका नेपालले भने, ‘एमालेमा फर्सी फलाएको मैले नै हो । तर, त्यो फर्सी कुहिसकेको छ । वाम लोकतान्त्रिक गठबन्धनलाई नोक्सान हुने गरि कोही लाग्न हुँदैन ।’
रेणु दाहालले भरतपुरको विकासको लागि अघि बढ्न मेयरमा उम्मेदवारी दिएको भन्दै उनले भने, ‘भरतपुरमा दुई मत छैन । रेणु दाहाल विकासको लागि अघि बढ्ने मेयर पाएका छौँ भन्छन् जुन मान्छेलाई सोध्दा पनि । नमुना नगरको रुपमा भरतपुरलाई विकास गर्नु छ ।’
एमाले अहिले कुहिसकेको फर्सीजस्तो भयो : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफुले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए ।
‘एमाले मैले नै जन्माएको हो । त्यो बेला फर्सीजस्तो थियो । अहिले त कुहिएर गन्हाइसक्यो । त्यो खायो भने रोग मात्रै लाग्छ । बाहिर हेर्दा राम्रै फर्सी देखिएपनि भित्र भने कुँहिएर किरा परिसकेको छ,’ नेपालले भने ।
एमालेमा केपी ओलीका आगमन भएसँगै बिग्रिएको बताए । एमालेमा केपी ओली प्रवृतिले गर्दा एमालेलाई सिध्याएर कुहिएको फर्सी बनाइसकेको उनको भनाइ छ ।
विगतमा राजतन्त्र फाल्न तीन दल एकमत भएको स्मरण गराउँदै अहिले केपी ओली प्रवृतिलाई फाल्न गठबन्धन बनेको उनको भनाइ छ ।
रेणु दाहालको भाषणले दंगदास भएको छु
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेणु दाहालको खुलेरै प्रशंसा गरेका छन् । चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालले रेणु दाहालको भाषण सुनेर आफू दंगदास भएको बताए ।
‘पहिलो कुरा म रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भने । रेणु दाहालले चितवनमा विकास गरेको देखेर आफू निकै खुसी भएको बताए ।