कांग्रेस कार्यकर्तालाई प्रचण्डको उर्दी- हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छ
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरेका छन् ।चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन् ।
गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवाको रुपमा मनोनयन दर्ता गरेका छन् ।
कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने बताएका हुन् ।
‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने ।
रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने उनको उद्घोष गरे ।
हारेको प्रचण्ड, माधव नेपाल होइन केपी ओली होः अध्यक्ष प्रचण्ड
‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हारेको वास्तविकता जनताले नबुझ्दा आफू खिन्न हुनुपरेको बताएका छन् ।
चितवनमा बिहीबार संयुक्त सभालाई सम्बोधन गर्दै संसद विघटन देखि पार्टी विभाजनसम्ममा ओली पराजित भएको उनले बताएका हुन् ।
‘हारेको प्रचण्ड, माधव नेपाल होइन केपी ओली हो,’ अध्यक्ष प्रचण्डले भने, ‘यो कुरा तपाईँले नबुझेको सुन्न पर्दा खिन्न महसुष भएको छ ।’
उनले ‘लकिरको फकिर’ भएर लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । उनले गठबन्धनको विरोध गरिरहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई इङ्गीत गर्दै भने, ‘विधि, पार्टी र पद्धती बाहिर गएर कोही व्यत्ति विर पनि हुने स्थित अहिले नेपालमा छैन ।’
सम्बोधनका क्रममा उनले सहमति सहकार्य र एकता आजको पनि आवश्यकता रहेको जनाए । गठबन्धन बनेको दिनदेखि यसलाई तोड्ने प्रयास भएका दाबी उनले गरे ।
‘हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ । तपाईँको साथ सहयोग भयो भने, उत्प्रेरणा भयो भने यो गठबन्धन दशकौं जान्छ । यो स्वभाविक र प्राकृतिक गठबन्धन हो,’ अध्यक्ष प्रचण्डले भने ।
चितवनमा संयुक्त सभालाई सम्बोधन गर्दौ प्रचण्डले भने– लाल सलाम, जय नेपालको अभिवादन
‘प्रचण्ड’ ले चितवनको संयुक्त सभालाई सम्बोधनका क्रममा उनले लाल सलाम र जय नेपाल दुवै शब्दावलीको प्रयोग गरेका छन् ।
नेपाल कांग्रेसका नेता तथा कार्यकर्ताबीच ‘जय नेपाल’ प्रचलनमा रहेको थियो भने कम्युनिस्ट नेता तथा कार्यकर्ताबीच ‘लाल सलाम’ शब्दावली प्रचलनमा रहेको थियो । तर, प्रचण्डले आज सम्बोधन गर्दा एकसाथ दुवै शब्दाली प्रयोग गरे ।
‘आदरणीय जनसमुदाय लाल सलामा र जय नेपालको अभिवादन,’ अध्यक्ष प्रचण्डले भने ।
लाल सलाम र जय नेपालको प्रयोग सम्बोधनका क्रममा एकसाथ भन्ने सुरुवात २०४६ सालका जनआन्दोलन अघिबाट भएको दाबी उनले गरे । कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन सुरु गर्दा लाल सलाम र जय नेपालले सम्बोधन गर्न थालिएको उनले बताए ।