कांग्रेस र कम्युनिस्ट दुवै हतियार उठाएर आएका हुन् : केपी ओली
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कांग्रेस र एमालेले पनि हतियार उठाएर राजनीतिमा आएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले राणा शासन अन्त्यका लागि कांग्रेस पनि हतियार उठाएको र एमाले पनि हतियार उठाएरै राजनीतिमा आएको बताएका हुन् ।
‘नेपाली कांग्रेस पनि स्थापना हुँदा बल प्रयोग गरेर राणा शासन उल्ट्याउने नीतिका साथ स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टी पनि बल प्रयोगद्वारा राज्यसत्ता प्राप्त गर्ने र न्यायोचित समाज स्थापना गर्ने नीतिका साथ स्थापना भएको थियो । २००७ सालमा कांग्रेसले हतियार उठाएको हो, हामीले पनि हतियार उठाएका हौँ सात सालमा,’ ओलीले भने ।
तानाशाह व्यवस्थाका बेला स्थापना भएका पार्टीले तानाशाह व्यवस्था उल्ट्याउन हतियार उठाएको ओलीको भनाइ छ ।
तर, तानाशाही नभएका बेला, शान्तिपूर्ण ढंगले संवैधानिक बाटोबाट परिवर्तन सम्भव भएका बेला हिंसाको बाटो अपनाइन्छ भने त्यो उग्रपन्थ हुने र यसले क्रान्तिलाई टाढा बगाउने अध्यक्ष ओलीले बताए ।
शासक तानाशाह र दमनमा उत्रिएपछि विद्रोहको सुरुवात भयो
अध्यक्ष केपी ओलीले समाजको विकास क्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुने क्रम सुरु भएको बताएका छन् ।
उनले शासक दमनमा उत्रिएपछि आवश्यकताले विद्रोह जन्मिँदै आएको बताए ।
‘पहिले शासनका लागि संगठनहरु बन्न थाले । जब शासनहरु तानाशाह हुन थाले, दमनकारी हुन थाले । र समुदायभित्र नै एउटा शासक, अर्काे शासित । एउटा मालिक, अर्काे दासको प्रचलन सुरु हुन थाल्यो । त्यसपछि विद्रोहको आवश्यकता भयो,’ ओलीले भने ।
राज्य तानाशाह र दमनकारी अब रहन नसक्ने भन्दै उनले तानाशाह र दमनकारीविरुद्ध जनता उत्रिने बताए ।