क्यालिफोर्नियामा सम्पन्न नेपाल डे परेडको हरहिसाब सार्वजनिक : ९ हजार डलर भन्दा बढी नाफा
ल्यानक्यास्टर। अघिल्लो साता क्यालिफोर्नियामा सम्पन्न नेपाल डे परेडको हरहिसाब सार्वजनिक गरिएको छ।
स्थानीय विभिन्न संघ संस्थासँगको सहकार्यमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका वेष्टकोष्ट रिजन र क्यालिफोर्निया च्याप्टरको आयोजनामा नेपाल डे परेड अफ्रिल ९ तारिकमा सम्पन्न भएको हो ।
कार्यक्रम सम्पन्न भएको दशौ दिन मंगलवार साँझ आयोजकले जुम मार्फत पत्रकार सम्मेलन गर्दै आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन्। अमेरिकामा क्रियाशिल नेपालीका संघ संस्थामा यस्ता घटना विरलै हुने गर्दछन्। कार्यक्रम भव्यरुपमा सम्पन्न भयो भन्ने गरिए पनि आर्थिक पाटोमा प्राय आयोजक मौन बस्दै आउने गरेका हुन्छन्।
कतिपय अवस्थामा आर्थिक पक्षलाई लिएर नेपाली समाजमा ठूला विवाद पनि हुने गरेका छन्। “हामी समाजलाई विगार्ने होइन, हामी समाज जोड्ने चाहान्छौ, हामी आलोचित हुने काम गर्दैनौं” हरहिसाव सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अमेरिका वेष्टकोष्ट रिजनका चियर तथा कार्यक्रम मुल आयोजक समितिका संयोजक श्रीराम थापाले भने। उनले कार्यक्रमको क्रममा केही गल्ति भएमा क्षमा दिन आग्रह गरे ।
थापाले आर्थिक पारदर्शिता मुल मन्त्र भएको र आफुहरुले एक पेनी पनि तलमाथि नगर्ने बताए। “हरहिसाब सार्वजनिक गर्न पाउँदा छाति चौडा भएको छ, कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु।”
यस्तै एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्माले नेपाल डे परेडले प्रवासमा रहेरका नेपालीमा नेपाल प्रतिको भावना बढेको बताए । “कार्यक्रमले नेपालीहरुमा एकताको सन्देश दिएको छ, प्रवासमा रहेर पनि नेपाल प्रतिको भावना हामीमा छ भन्ने सन्देश दिएको छ।”
शर्माले कार्यक्रमको हरहिसाब बारेमा जानकारी लिन पाउनु सबैको अधिकार भएकाले आफुहरुले त्यसै अनुसार काम गरेको बताए । “हरहिसाबको बारेमा जान्ने सबैमा अधिकार छ, आम्दानी कसरी भयो खर्च कस्तो छ भोलिका दिनमा यस्ता कार्यक्रम कसरी गर्न सकिन्छ भन्ने तपाइहरुले पनि अनुभव गर्न सक्नु हुन्छ।”
नेपाल डे परेडका आर्थिक संकलन कमिटीका संयोजक प्रितेश कार्कीले कार्यक्रमका लागि कुल ४० हजार २१ डलर उठेको बताए । कार्कीले एक सय सात जनाबाट सो रकम उठेको जानकारी दिए । कार्यक्रममा कार्कीले सबै चन्दादाताको नाम र उनीहरुले दिएको रकम पढेर सुनाएका थिए ।
“हामीलाई विश्वास गरेर दाताहरुले मनखोलेर सहयोग गर्नुभएकोमा म सबैलाई धन्याद दिनचाहान्छु।” कार्कीले भने ।
एनआरएनए क्यालिफोर्निया च्याप्टरका सचिव हरि ओझाले कार्यक्रमको कुल आम्दानी र खर्चको विवरण पेश गरेका थिए । “हामी सबै बिलहरु गूगल ड्राइभ र एक्सल सिट बनाएर एनआरएनएको फेसबुक पेज र वेवसाइडमा राख्छौ, तपाई कसैलाई पनि कुनै पनि विषयमा सोध्न सक्नु हुने छ।” ओझाले भने।
ओझाले कार्यक्रमका लागि कुल आम्दानी ५३ हजार ६८ डलर भएको बताए । ओझाका अनुसार विभिन्न व्यक्तिबाट दिइएको चन्दा, टिकट विक्रिबाट सो आम्दानी भएको हो । उनले कुल खर्च ४३ हजार तीन सय ८२ डलर भएको बताए। “६ हजार डलर खातामा जम्मा हुन बाँकी छ, समग्रमा हामी ९ हजार ६ सय ७० डलर नाफामा छौं।” ओझाले भने ।
नेपाल डे परेडका समाचार संयोजक उत्तम धमलाले कार्यक्रम सञ्चालन गरेका थिए।