अवैध रुपमा अमेरिका प्रेवस गर्न खोज्ने एक आप्रवासीको मेक्सीको बोर्डरमा मृत्यु
टेक्सास । स्थलमार्ग हुदै अवैध रुपमा अमेरिका प्रेवस गर्ने क्रममा टेक्सास नजिकै सीमामा एक जना आप्रवासीको मृत्यु भएको छ ।
यूएस भन्सार र सीमा सुरक्षा (सीबीपी) का अनुसार गस्तिको टोलीले घाइते अवस्थामा भेटाएको व्यक्तिलाई उपचारका लागि प्रयास हुदै गर्दा निधन भएको हो ।
सीबीपीले बुधवार प्रेस विज्ञप्ति मार्फत घटनाको औपचारिक जानकारी गराएको हो। विज्ञप्तिमा जनाइए अनुसार सीमा गस्तिमा रहेका सुरक्षाकर्मीलाई छल्न भाग्ने क्रममा ति व्यक्ति घाइते अवस्थामा पक्राउ परेका थिए।
विज्ञप्ति अनुसार टोर्निलो पोर्ट अफ एन्ट्रीबाट लगभग १२ माईल पश्चिममा क्लिन्ट, टेक्सास नजिकैको अन्तर्राष्ट्रिय सीमामा रहेको अवरोध पन्छाउदै धेरै कागजातविहीन आप्रवासीहरू अमेरिका प्रवेस गर्न खोज्दै थिए । उनीहरुलाई रोक्ने क्रममा दुई जना घाइते अवस्थामा भेटिएका थिए ।
घाइते भएका दुई जना पुरुष मध्ये एक जना मेक्सिकोका नागरिक बेहोस थिए । घाइतेलाई तत्काल आकास्मिक चिकित्सा सुविधा उपलब्ध गराइएको सीबीपीले जनाएको छ ।
पछि दुबै घाइतेलाई थप उपचारका लागि टेक्सासकै एल पासो स्थित डेल सोल मेडिकल सेन्टरमा लगिएको थियो । अचेत अवस्थामा रहेका व्यक्तिलाई भन्सार तथा सीमा सुरक्षा अस्पतालको निगरानीमा गम्भिर चोट लागेको अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । अर्को व्यक्ति जसको दाहिने हात भाँचिएको थियो उनलाई अस्पतालबाट रिहा गरि मेक्सिको फर्काइएको थियो ।
अचेतन अवस्थामा भेटिएका व्यक्तिलाई अप्रिल २ मा मेडिकल लाइफ सपोर्टमा राखिएको थियो। तर पाँच तारिक उनलाई चिकित्सकले मृत घोषित गरे।
यो घटना मेडिकल परीक्षकको एल पासो काउन्टी कार्यालय र व्यावसायिक जिम्मेवारीको सीबीपी कार्यालय द्वारा समीक्षा भइरहेको विज्ञप्तिमा जनाइएको छ ।
फोटो : सीबीपी