न्यूयोर्कको ट्रेनमा गोली चल्यो, एक दर्जन भन्दा बढी घाइते
न्यूयोर्क । ब्रुकलिन सबवेमा मंगलवार बिहान भएको गोलीबारीमा कम्तिमा एक दर्जन घाइते भएका छन् ।
घटना बिहान ८:३० बजे सनसेट पार्कको ३६ स्ट्रीट स्टेशनमा भएको हो । यो सबवे स्टेशनमा डी, एन, आर लाइनका ट्रेन चल्छन ।
बिहानको भीडको समयमा भएको गोलीबारीमा कम्तीमा १३ जना घाइते भएको बताइएको छ । जसमा पाँचजनालाई गोली लागेको अनुमान गरिएको अधिकारीहरू र पुलिसस्रोत उल्लेख गर्दै एनवाइ पोष्टले आफ्नो समाचारमा जनाएको छ ।
सामाजिक सञ्चालमा सार्वजनिक भिडियो र फोटोमा ट्रेन स्टेशनमा रगत छताछुल्ल देखिएको छ। अधिकारीले घटना स्थलबाट धेरै विस्फोट नगरिएका उपकरणहरू फेला पारेको जनाएका छन् ।
म्यानहट्टन-जाँदै गरेको एन ट्रेनमा सवार हुँदा घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार त्यहाँ धेरै राउन्ड फायर भएका थिए।
प्रहरी अधिकारीहरू अभियुक्तको खोजी गरिरहेको बताएका छन् । बम स्क्वाडले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।
संदिग्धले एमटीए कार्यकर्ताको जस्तै कुनै प्रकारको निर्माण पहिरन लगाएको विश्वास गरिएको छ।