अमेरिकामा दुई वर्षका भाइले चलाएको बन्दुकको गोलि लागेर चार वर्षीया दिदीको मृत्यु
डेलावेयर । पेन्सिलभेनियामा दुई वर्षका बालकको हातमा रहेको बन्दुकको गोलि लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
डेलावेयर काउन्टीमा रहेको एक ग्यास स्टेशनमा मंगलवार घटना भएको बताइएको छ । चेस्टर प्रहरीका अनुसार पार्किङ गरिएको गाडिमा यस्तो घटना भएको हो । चेस्टरको केर्लिन स्ट्रिटको ९०० ब्लकमा रहेको ईगल सेभ मार्टको ग्यास पम्पमा गाडि पार्क थियो ।
गोलि लागेकी बालिकालाई तत्काल नै क्रुजर-चेस्टर मेडिकल सेन्टरमा लगियो, जहाँ उनलाई पछि मृत घोषित गरियो।
प्रत्यक्षदर्शीहरूका अनुसार बच्चाका बुबा कार बाहिर थिए। प्रहरीले बालबालिकाको पहिचान सार्वजनिक गरेको छैन । तर प्रत्यक्षदर्थी र स्थानीयको भनाई भन्दै एनबीसी न्यूज फिलाडेल्फियाले ती बच्चाहरू दिदीभाइ भएको उल्लेख गरेको छ।
चेस्टर पुलिसले भनेको छ “सानो केटाले कार भित्र बन्दुक चलाइरहेको थियो । अनायस केटीलाई गोली लाग्यो।” डेलावेयर काउन्टी जिल्ला अधिवक्ता ज्याक स्टोलस्टेमरले यसलाई दुखद दिन भनेका छन्।
अमेरिकामा बन्दुक हिंसाका कारण वर्षेनी सयौंले ज्यान गुमाएका छन् । त्यसमा बालबालिकाको संख्या पनि उल्लेख्य छ । दुई साता अगाडि मात्र ओहायोमा पनि एक ११ वर्षीय नेपालीभाषी बालकको साथिले चलाएको बन्दुकको गोलि लागेर निधन भएको थियो । आफ्नै साथीले चलाएको बन्दुकको गोलिले अमेरिकामा ११ बर्षिय नेपालीभाषी बालकको मृत्यु
यस्तै गत महिना, शिकागो सुपरमार्केट पार्किङमा आफ्नो कारमा बसिरहेको बेला एक ३ वर्षीय बालकले दुर्घटनावश चलाएको बन्दुकको गोलीले आफ्नी आमाको मृत्यु भएको थियो ।
एड्भोकेसी समूह एभरीटाउन फर गन सेफ्टी द्वारा विश्लेषण गरिएको तथ्याङ्क अनुसार, यो वर्ष अहिलेसम्म अमेरिकामा बालबालिकाद्वारा कम्तीमा ५१ वटा अनायासै गोलीबारी भएका छन्, जसमा १७ जनाको मृत्यु भएको छ र ३८ जना घाइते भएका छन्।
गत वर्ष, देशभरि बालबालिकाद्वारा कम्तिमा तीन सय ७९ वटा अन्जानमा गोलीबारी भएका थिए, जसमा एक सय ५४ जनाको मृत्यु र दुई सय ४४ जना घाइते भएको एड्भोकेसी समूहको रिपोर्टमा उल्लेख छ ।