बाल्टिमोरको नेपाली सांस्कृतिक केन्द्रले राज्यबाट तीन लाख डलरको बजेट पाउने
बाल्टिमोर । बाल्टिमोरमा संस्थापित नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका लागि राज्य संसदले बजेट दिने भएको छ ।
नेपालीमुलका एक मात्र अमेरिकी सांसद डाक्टर ह्यारी भण्डारीको पहलमा नेपाली समुदायले फेरि अर्को ठूलो बजेट राज्यबाट पाउने भएको हो ।
“बाल्टिमोरमा संस्थापित नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका लागि तीन लाख डलर बजेटका लागि विधायिकी बण्ड प्रायोजन गरेको मा संसद्को दुवै सदनले नेपाली सांस्कृतिक केन्द्रले मागेको जति सम्पूर्ण रकम निकाशा गर्ने भएको छ! यो रकम सात वर्ष भित्र खर्च गर्नु पर्ने हुन्छ!” भण्डारीले बजेटबारे जानकारी दिदै लेखेका छन्।
भण्डारीकै पहलमा यस अगाडि बाल्टिमोर नेपाली एशोसियसन अफ नेप्लिज इन अमेरिका (बाना)का लागि एक लाख २५ हजारको विधायिकी बण्ड र काउण्टीबाट त्यतिकै म्याचिङ फण्ड गरी दुई लाख ५० हजार बजेट राज्यबाट मिलेको थियो ।
नेपाली समुदायले राज्यबाट नयाँ बजेट प्राप्त गरेको बारेमा भण्डारीको भनाई
प्रेस विज्ञप्ती
६ अप्रिल, २०२२
बाल्टिमोरको नेपाली सांस्कृतिक केन्द्रका लागि
तीनलाखको विधायिक बण्ड पारित
अमेरिकाको मेरिल्याण्ड राज्य संसदले बाल्टिमोरमा संस्थापित नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका लागि तीन लाख डलरको विधायिकी बण्ड पारित गरेको छ। अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११:२९ बजे संसदको तल्लो सदन हाउस अफ एसेम्बलीमा १२९-४ को भारी बहुमतले विधेयक पारित भएको हो। यसअघि नै संसदको माथिल्लो सदन सिनेटमा सर्वसम्मतिले पारित भएको यो बजेट विधेयक स्वत: कानुन बनेको छ।
यो बजेट यसै आर्थिक वर्षमा उपलब्ध हुन्छ र सात वर्षभित्र खर्च गरिसक्नुपर्ने हुन्छ। यसका लागि कुनै म्याचिङ फण्ड पनि आवश्यक नभएकाले यो तुरून्तै उपलव्ध हुन्छ। यसबाट नेपालीहरूको आध्यात्मिक मन-मस्तिष्क जोडिएको नेपाली सांस्कृतिक केन्द्रको भौतिक संरचना निर्माणमा ठूलो योगदान पुग्ने मेरो विश्वास रहेको छ।
विधायिकी बण्ड विधायकहरूको अनुरोधमा विशेषगरी उनीहरूको निर्वाचन क्षेत्रमा विभिन्न आवधिक योजनाका लागि सहयोग स्वरूप प्रदान गरिन्छ। तर, सबै विधायकहरूको अनुरोध स्वीकार हुदैन, त्यसका लागि संसदमा ठूलो लबिङ चाहिन्छ। यसपटक पनि थोरै विधायकका बण्ड मात्र पारित भएका छन्। थोरै सांसदका प्रस्ताव पारित भएको अवस्था र नेपाली अमेरिकन सांस्कृतिक केन्द्रको संरचना मेरो निर्वाचन क्षेत्रमा नहुँहा नहुँदै पनि मेरिल्याण्ड संसदबाट बिधायिकी बण्ड पारित हुनुलाई मैले व्यक्तिगत उपलव्धीका रूपमा भन्दा पनि नेपाली सुमदायको सामुहिक उपलव्धीका रूपमा लिएको छु।
नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका ट्रस्टीहरूसँगको परामर्शमा मैले यो बण्ड आफ्नै पहलमा द्विदलीय समर्थनमा अगाडि बढाएको थिएँ र आज त्यो प्रस्तावमार्फत् मेरो आफ्नै नेपाली समुदायमा तीन लाख डलर राज्यकोषबाट सहयोग प्राप्त भएको खबर सुनाउन पाउँदा छाति गर्वले फुलेको छ। म यो खुशी र यसको श्रेय यहाँहरू सबैसँग सरोबर बाँड्न चाहन्छु। यो प्रस्तावलाई अगाडि बढाउन सहयोग गर्नुहुने नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका आदरणीय ट्रष्टीहरूप्रति आभार प्रकट गर्दछु र आगामी दिनमा पनि यस्तै सहकार्यका लागि हार्दिक अपेक्षा राखेको छु।
म मूलत: तीन कारणले खुशी छु, पहिलो आफ्नो आस्था, धर्म र विश्वाससमेत रहेको मन्दिर र गुम्बाका लागि नेपाली अमेरिकन सांस्कृतिक केन्द्रका नाममा तीन लाख डलर रकम आएको छ र यसले निर्माणाधीन चरणमा रहेको केन्द्रको निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउने छ। दोस्रो, यो सहयोगको प्राप्तिसँगै अन्तत: हाम्रो नेपाली समुदाय अमेरिकाको मूलप्रवाहमा आर्थिक कोणबाट पनि समावेश हुन थालेको दृष्टान्त मिलेको छ। तेस्रो र सबैभन्दा महत्वपूर्ण पक्ष अमेरिकाको कुनै राज्यको क्यापिटल बुकमा नेपाली भन्ने पहिचान अभिलेख भएको छ र त्यसको सांस्कृतिक केन्द्रका लागि राज्यले यो रकम दिएर त्यसलाई मान्यता प्रदान गरेको छ।
बितेको चार वर्षमा मेरिल्याण्ड संसदमा नेपाली समुदायको एक्लो प्रतिनिधि भए पनि यो समुदायको गतिलो प्रतिनिधित्व गरेर भिजिबल बनाएको छु र एनापोलिसले हामीलाई सुन्न र देख्न पनि थालेको छ। हामीले हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ र स्रोत तथा साधनको लागि सरकारी ढोका ढक्ढकाउनु पर्छ।यो अमेरिकी मूलधारमा जोड्ने तरिका पनि हो, हाम्रो अधिकार पनि हो। कतिपय अवस्थामा भावनाले मात्र काम गर्दैन, त्यसैका लागि राज्य चाहिने हो।
बाल्टिमोरमा सुविधासम्पन्न नेपाली सांस्कृतिक केन्द्र निर्माण होस् भन्ने मेरो प्रिय चाहना हो। त्यसका लागि म आफ्नो ठाउँबाट यथाशक्य प्रयत्न गरिरहने प्रतिज्ञा गर्दछु। र, समस्त नेपाली आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीमा साथ, सहयोग र सद्भावका लागि हार्दिक आव्हान पनि गर्दछु।
यसअघि बाल्टिमोर नेपाली एशोसियसन अफ नेप्लिज इन अमेरिका (बाना)का लागि एक लाख २५ हजारको विधायिकी बण्ड र काउण्टीबाट त्यतिकै म्याचिङ फण्ड गरी दुई लाख ५० हजार बजेट ब्यबस्थापन गर्न पनि सफलता मिलेको थियो। यी दुई योजनाका लागि गरेर संसदको पहिलो कार्यकालमै मैले पली सुमदायका लागि ५ लाख ५० हजार डलर सहयोग राज्यकोषबाट विनियोजन गराउन सफलता हात पारेको छु। यो प्रस्थान विन्दूले इतिहासमा अहम् महत्व राख्छ भन्ने मैले विश्वास लिएको छु।
अमेरिकामा पहिलो परिवार, दोस्रो समुदाय भनिन्छ। मलाई यो कुराको राम्रैसँग हेक्का छ। त्यसैले सुरूदेखि नै नेपाली समुदायको हितका लागि आफूलाई समर्पित गर्दैआएको छु। र, यो यथार्थ अमेरिकाभरिकै नेपाली समुदायलाई बताउँदै पनि आएको छु। समय क्रममा नेपाली समुदायले यसलाई बुझ्न पनि थालेको छ। अमेरिकाको नेपाली समुदायका लागि आजको भन्दा भोलिका निम्ति यो एक सुखद् संकेत हो।
सद्भावपूर्ण सहकार्यको अपेक्षासहित,
डेलिगेट ह्यारी भण्डारी, पीएचडी
मेरिल्याण्ड डिस्ट्रिक्ट- ८
(सच्याइएको : यस अगाडि यो समाचारमा बाल्टिमोरमा नै रहेको अर्को केन्द्रको फोटो पर्न गएकोमा क्षमायचना सहित सच्चाइएको छ : सम्पादक)