आफ्नै साथीले चलाएको बन्दुकको गोलिले अमेरिकामा ११ बर्षिय नेपालीभाषी बालकको मृत्यु
अमेरिका । आफ्नै साथीले चलाएको बन्दुकको गोलि लागेर अमेरिकामा ११ बर्षिय एक नेपालीभाषी बालकको निधन भएको छ ।
ओहायोको नर्थ हिलमा रहेको एक घर भित्र किस्मत सेङदानको टाउकोमा गोली लागेको र उनको घटना स्थलमा नै निधन भएको प्रहरीले जनाएको छ । किस्मत एक्रोन पब्लिक स्कूलमा कक्षा चारमा अध्ययनरत थिए । घटना गत बिहिवार साँझ भएको हो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भनेको छ । तर प्रारम्भिक अनुसन्धानमा बालकहरु बीचमा झुक्किएर घटना भएको हुन सक्ने अनुमान गरिएको छ । गोलीबारी भएको डेटन प्लेसको १०० ब्लकमा रहेको घरमा किस्मत बस्दैनन् तर त्यहाँ बारम्बार आउने गरेको प्रहरीले जनाएको छ।
अनुसन्धानको क्रममा प्रहरीले घटना स्थलमा चार जना बालक मात्र रहेको जनाएको छ । समिट काउन्टी मेडिकल परीक्षणको कार्यालयले दिएको मेडिकल रिपोर्टमा बालक किस्मतको टाउकोमा गोली लागेर मृत्यु भएको भनिएको छ ।
किस्मतलाई घटना भएको घरको माथिल्लो तलामा लडिरहेको अवस्थामा एक्लै भेटिएको जनाइएको छ । घटना पछि अन्य बालक घर छोडेर हिडेका थिए ।
“मृत्यु अनायासै बन्दुक प्रहारबाट भएको देखिन्छ, तर परिस्थिति अझै अनुसन्धान भइरहेको छ,” अक्रोन प्रहरीले भनेको छ।
प्रहरीले अर्को बालकको हातमा रहेको बन्दुक भुलवस चलाउदा घटना भएको भनेको छ । हातमा बन्दुक हुने बालकको पहिचान प्रहरीले खुलाएको छैन ।
प्रहरीले बन्दुक कस्को हो र त्यो बच्चाहरुको हातमा कसरी पुग्यो भन्ने अनुसन्धान गरिरहेको भनेको छ । बन्दुक प्रहरीले बरामद गरेको जनाएको छ ।
यसै बीच भूटनिज कम्युनिटी एशोसिएसन अफ एक्रोनले घटनामा दुख व्यक्त गदै मृतआत्म प्रति श्रद्धान्जली व्यक्त गरेको छ । एशोसिएशनले किस्मतको आउदो मंगलबार नै अन्तिम दाहसंस्कार गरिने जनाएको छ ।