अमेरिकामा अनौठो घटना : एक महिला हुलाक कर्मचारी माथि विभिन्न ग्राहकको सात लाख डलरको चेक चोरिको आरोप
ल्यान्कास्टर । अमेरिकामा हुलाक सेवालाई अत्यन्त भरपर्दो र विश्वासलियो मानिन्छ । आम मानिसका नियमित काम हुलाकबाटै हुन्छन् ।
तर अमेरिकाको पेन्सिलभेनिया राज्य स्थित ल्यानक्यास्टर काउन्टीमा आश्चर्य लाग्दो घटना सार्वजनिक भएको छ ।
ल्यान्कास्टर काउन्टीमा एक महिला हुलाक कर्मचारीलाई ग्राहकको चेक चोरि गरि ती चेकमा नाम र रकम परिवर्तन गरि करिब सात लाख अमेरिकी डलर चोरेको आरोप लगाइएको छ।
२६ वर्षीया जेनेसी रोड्रिग्वेजले जालसाजी, पहिचान चोरी र चोरीको सम्पत्ति प्राप्त गर्ने जस्ता सयौं आरोपहरू सामना गरिरहेकी छन्।
घटना अनुसार जेनेसीले लियोला हुलाक कार्यालयमा मेल वाहक (हुलाकी) हुँदा ग्राहकको चेक चोरि गरि नाम र रकम परिवर्तन तथा हस्ताक्षर कीर्ते गरेर नगद साटिएको आरोप छ ।
ग्राहकले विल भुक्तानीका लागि पठाएको चेक सम्वन्धि निकायले नपाएको भन्दै पत्रचार गरे पछि घटनाहरु बाहिरको हो । कतिपयले आफ्नो बैक स्टेटमेन्टमा अस्वाभिक रकम काटिएको देखे पछि उजुरी गरेका थिए ।
प्रहरीका अनुसार पीडित ग्राहक मध्येकी एक क्रिस्टिन हूवरले ४० डलरको चेक आफ्नो मेल बक्समा राखेकोमा पछि बैकमा ६ हजार पाँच सय डलर साटिएको भन्दै उजुरी दिएकी थिइन । आफुले पठाएको ठाँउमा चेक नपुगेको तर अनलाइनमा हेर्दा खातामा ठूलो रकम घटेको देखे पछि उनले उजुरी गरेकी थिइन् ।
यस्तै अर्को एक ग्राहकले १८ डलरको चेक पठाएको भए पनि ८ हजार पाँच सय बनाएर चेक साटिएको पाइएको प्रहरीले जनाएको छ ।
एक पछि अर्को गर्दै सयौं उजुरी आउन थाले पछि हुलाक कार्यलय र प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । सोक्रममा धेरै गुनासो आएका क्षेत्रमा कार्यरत कर्मचारीलाई शंकाको घेरामा राख्दै अनुसन्धान गरेको जनाएको छ ।
त्यस क्रममा प्रहरीले जेनेसी रोड्रिग्वेजको डेलिभरी ट्रक भित्र गोप्यरुपमा क्यामेरा राख्यो। प्रहरीका अनुसार, त्यस पछि भिडियोमा रोड्रिग्वेजले ग्राहकका चिठ्ठि पत्र खोलेर हेरेको कतिपय अवस्थामा खाम फेरेको, केही खाम आफ्नो झोलामा राखेको देखिएको जनाएको छ । यस्ता घटना ६१ पटक देखिएको पुलिसको दावी छ ।
“रोड्रिग्वेजले नोभेम्बर २४ र मार्च २९ को बीचमा लिओला-एरिया जिप कोड भएका खामहरूमा एक सय ११ चेकहरू चोर्न अमेरिकी हुलाक सेवा मेल वाहकको रूपमा आफ्नो जागिर प्रयोग गरिन्, त्यसपछि आफूले चोरेको परिवर्तन गरिएका र नक्कली चेकहरू जम्मा गरिन्।” प्रहरीले अभियोग पत्रमा भनेको छ ।
धेरै पीडितहरू ल्यान्कास्टर काउन्टीका स्थानीय रहेको प्रहरीको भनाइ छ । यस्तै मिशिगन, फ्लोरिडा, केन्टकी र नेभाडाका ब्यक्ति पनि पीडित भएको बताइएको छ ।
रोड्रिग्वेज ल्यानक्यास्टर क्षेत्रका लागि नयाँ कर्मचारी भएको हुलाक कार्यलयले जनाएको छ । अक्टोबरमा पूर्वी पीटर्सबर्ग हुलाक कार्यालय बाट उनको सरुवा भएको थियो ।
रोड्रिग्वेज माथिको आरोपमा माथि अप्रिल ११ मा प्रारम्भिक सुनुवाइ हुदै छ ।
(विभिन्न स्थानीय मिडियाको सहयोगमा )