गायिका रचना रिमाल मैदान प्रवेश गरेको विषयमा क्यानले सोध्यो स्पष्टीकरण
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए ।
‘मैले सुरक्षा निकायसँग बुझ्दा टिकट काट्ने काउन्टर र गेटसँगै परेको रहेछ । हाम्रो पार्टनर (सुन्बी होल्डिङ) ले त्यहाँसँगै नराख भनेको रहेछ । अलि तल राखभन्दा त्यहि राखेको रहेछ । त्यहीँ प्रेसर पर्यो । त्यो मौका पाउँदा हुल नै भित्र छिर्यो,’ क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ले न्युज कारखानासँग भने, हामीले यसबारे सुन्बी होल्डिङसँग स्पष्टीकरण सोधेका छौँ ।’
यसअघि क्यानले प्रतियोगिताको मर्सियल राइट सुन्बी होल्डिङलाई दिएको थियो । सुन्बी होल्डिङले टिकटको लागि आईएमी-पे र सुरक्षाको लागि केटीएमलाई जिम्मा दिएको थियो । खेल सकिएपछिसमेत दर्शक दीर्घाबाट मैदान प्रवेश भएपछि क्यानले सुन्बीलाई स्पष्टीकरण सोधेको हो । क्यानले पुरस्कार वितरणका लागि प्रमुख अतिथिमा अर्थमन्त्री जनार्दन शर्मालाई आमन्त्रण गरेको थियो ।
पुरस्कार वितरण समारोहमा गायिका रचना रिमाल र दर्शक नै मैदान प्रवेश गरी ट्रफीसहित फोटो सामाजिक सञ्जालमा राखिएको भेटेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।
दर्शकदीर्घाबाट खेल हेर्न प्रवेश गरेकी गायिका रचना रिमाल पुरस्कार वितरण समारोहमा भने मैदान प्रवेश गर्दै कप्तान सन्दीप लामिछानेलगायत खेलाडीसँग फोटो खिच्न भ्याएकी थिइन् । उनले आफ्नो सामाजिक सञ्जालमा भिडियो र फोटोसमेत ‘पोष्ट’ गरेकी छिन् ।
‘सुरुमा सहयोगी होलान् भन्ने सोच्यौँ। फेसबुकमा पनि ट्रफी समातेर फोटो राखेको देख्यौं । यो के कारणले भयो ? कसरी भयो ? भनेर हामीले स्पष्टीकरण सोधका छौं, ’ मल्लले भने ।
मलेसिया, नेपाल र पीएजी सम्मिलित टी-२० शृंखलाको फाइनल खेलमा पीएनजीलाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको थियो । जुन सन्दीपको कप्तानीमा नेपालले प्राप्त गरेको पहिलो उपाधि बन्यो ।
यसै बीच यस समाचार प्रकासन पछि गायिका रचनाले आफुलाई क्यानले स्प्टीकरण सोधेकोबारेमा असहमति जनाएकी छिन् ।
रचनाको फेसबुक स्टाटस जस्ताको त्यस्तै
-नमस्कार म रचना रिमालहालै सम्पन्न T20I सिरिजको सबैखेल मैले फोनबाट हेरेपनि हिजो फाइनल म्याच मैदानमै सम्पुर्ण समर्थकसँगै बसेर हेर्ने योजना साथ म हिजोको सबै काम सारेर १ बजे मैदान पुगेको थिए ।
तोकिएको रु . २०० को टिकट किनेर खेलको पहिलो इनिङ समर्थकहरुको बिचमा बसेर हेरेको थिएँ भने दोश्रो इनिङ्को ५ ओभर पछि क्यानको निमन्त्रणा मा म VVIP बक्समा बसेर अन्तिम सम्म खेल हेरेर खेल पश्चात् सबै अतिथिसँगै पुरस्कार वितरण समारोहमा सरिक भएको थिए। त्यसै समय केहि खेलाडी र प्रशिक्षक संग फोटो खिच्ने अवसर प्राप्त गरेको हुँ र समारोह सकिएपछि मैदानबाट फर्किएको थिएँ।
तर आज केहि अनलाईन समाचारहरुमा मलाई कृकेट असोसिएसन अफ नेपाल (क्यान) ले मैदान प्रवेश गरेको बारेमा स्पष्टिकरण सोधेको भन्ने बारेमा समाचार आएको देखेँ , जुन सरासर गलत हो ।
समाचारमा उल्लेखित नाम क्यानका पदाधिकारी प्रशान्त विक्रम मल्ल दादालाई मैले टेलिफोन मार्फत बुझ्दा पनि त्यस्तो केहि नभएको “तपाईंलाई हामिले बोलाएका हौँ, तपाईँ हाम्रो अतिथि हो हामिले त्यस्तो किन गर्ने ? ” भन्ने बताउनु भएको छ ।
यसैले पनि उक्त समाचार गलत रुपमा लेखिएको छ त्यसको म घोर बिरोध गर्दछु। साथै मेरो मान हानि हुनेगरि उक्त प्रकारको समाचार लेख्ने सबै मिडियाहरुलाई आवश्यक कानुनी कारबाहीको लागि प्रकृया अगाडि बढाउने छु ।सदैव खेलकुद र खेलाडी हरुप्रति मेरो उच्च सम्मान र समर्थन रहनेछ।
फोटो : रचना रिमालको फेसबुकबाट