अप्रिल ९ सान फ्रान्सिस्कोको फेरी बिल्डिङ्ग जाँउ, नेपाल डे परेडमा रमाँउ
अमेरिका । नयाँ वर्षको अवसरमा गैर आवासीय नेपाली संघ अमेरिका वेष्टकोष्ट रिजन र क्यालिफोर्निया च्याप्टरले स्थानीय संघ संस्थासँगको सहकार्यमा आयोजना गर्न लागेको नेपाल डे परेडको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
कालिफोर्नियाका विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा सान् फ्रान्सिस्कोमा गर्न लागेको “नेपाल डे परेड” अप्रिल ९ तारीख शनिबारका दिन हुने छ । बिहान ११ बजे सान् फ्रान्सिस्कोको फेरी बिल्डिंगबाट सुरु हुने परेड सिभिक सेन्टरको यु एन प्लाजामा पुगेर सभामा परिणत हुनेछ।
परेडका लागि संघ संस्था संयोजन समितिका संयोजक उत्तम कार्किका अनुसार सो दिनको परेडमा नेपालका विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने झाँकी र भेषभूषा सहित सहभागी हुने छन् ।
कार्यक्रममा क्यालिफोर्नियाका विभिन्न शहर र अमेरिकाका अन्य राज्यहरुबाट पनि नेपालीहरुको बाक्लो सहभागिता रहने परेड मूल आयोजक समितिका संयोजक तथा एनआरएनए अमेरिका वेष्टकोष्ट रिजनका रिजनल चेयर श्रीराम थापाले अपेक्षा गरेका छन् ।
शहर बाहिरबाट आउने पाहुनाका लागि सान फ्रान्सिस्को फाईनान्सियल डिस्ट्रिक्टमा रहेको होटल हिलटनमा शुलभ मुल्यमा कोठाहरु बुकिङ्क गरिएको र विमानस्थलबाट पिक अप र ड्रप अफको समेत व्यवस्था भएको कार्यक्रमका हस्पिटालिटि एण्ड मेनेजमेन्ट संयोजक रवि सिंह बस्नेतले जानकारी दिए।
अप्रिल नौ कै साँझ सान् फ्रान्सिस्कोकै युनाईटेड आईरिस कल्चर सेन्टरको हलमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ।
सांस्कृतिक कार्यक्रमामा भ्वाइस अफ नेपाल सिजन तीनका विजेता किरण गजमेर, दोहोरी गायक मिलन लामा, गायिका संगिता थापा मगर, गायक उदय भट्टराई लगायत अन्य स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ ।
सांस्कृतिक कार्यक्रमका संयोजक निर्मल फुयांलका अनुसार साँझको कार्यक्रमका लागि भने शुल्क तिर्नु पर्ने छ । एक टिकटको तीस डलर मूल्य राखिएको छ । टिकट www.thingsnepali.com बाटअनलाईन काट्न सकिने जानकारी कार्यक्रमका आई टी एवं डिजाईनिंग संयोजक अभिषेक ज्ञवालिले दिए।
कार्यक्रममा ५० जना भन्दा बढी स्वयंसेवकहरुको व्यवस्था गरिएको स्वयंसेवक परिचालन समितिका संयोजक एवं एनआरएनए क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष प्रेमराज केसीले भनाइ छ ।
कार्यक्रमका लागि कुल बजेट ३५ हजार डलर रहेको बनाइएको छ । बजेट व्यवस्थापनका लागि राजेश थापा, नारायण खनाल र प्रितेश कार्कीको टोलीले जिम्मा लिएको छ ।