एनआरएनए विवाद : स्वराज खातिद्वारा मनोनित पद अस्वीकार, शुल्क फिर्ताको माग
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को निर्वाचन प्रक्रिया प्रति असहमति जनाउदै स्वराज खातिले आफुलाई मनोनित गरिएको पद अस्वीकार गरेका छन् ।
खातिले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै पद अस्वीकार गर्नुको कारण पनि खुलाएका छन् ।
उनले आफुले तिरेको उमेदवारी दरखास्त दस्तुर पनि फिर्ता मागेका छन् । उनलाई अमेरिकाज छेत्रीय युवासंयोजकको पदमा मनोनयन गरिएको थियो ।
तीन अध्यक्ष सहितको जम्बो टिमको घोषणामा असन्तुष्ट जनाउदै पद अस्वीकार गर्ने खाति तेस्रो व्यक्ति हुन् ।
यस अगाडि अष्ट्रेलियका दिपक शर्माले पनि पद अस्वीकार गरेका थिए । क्षेत्रिय संयोजकमा उमेदवारी दिएका शर्मालाई पछि सहकोषाध्यक्षमा राखिएको थियो ।
यस्तै अमेरिकाज क्षेत्रको महिला संयोजकमा मनोनित बन्दना कोइरालाले पनि पद अस्वीकार गरेकी थिइन ।
खाति द्वारा जारी विज्ञप्तिको पूर्ण पाठ
प्रेस बिज्ञप्ति:
बिषय: NRNA – उम्मेदवारी दस्तुर फिर्ता माग , अलोकतान्त्रिक प्रबिधि र नियुक्ति सम्बन्धमा
गैरआवासीय नेपाली संघको १०औ अन्तर्रास्ट्रिय महाधिवेशनले “एकता”को संदेश बोकेता पनि व्यहवारमा विभाजनको बिजारोपण गर्दै समापन भएको छ । संक्षेपमा भन्नुपर्दा NRNA को बिश्वब्यापी अभियान यतिबेला चरम शिद्धान्त बिहिन , नैतिकता बिहिन र दिशाहिनताको शिकारभएको प्रस्ट देखिन्छ ।
यस किसिमको निहितार्थ गुट, उपगुट र लेनदेनको हानाथापले NRNA प्रति निष्ठावान , इमान्दार र स्वाभिमानी अभियन्ताहरुको साझा भावनामाथि निर्मम प्रहार गर्न खोजिएको देखिन्छ ।
यसअर्थमा NRNA प्रतिको मेरो जिम्मेवारीलाई नैतिक धरातलमा उभिएर आत्मविस्लेषण गर्दा म जस्तो नयाँ पिडिको युवाले NRNA का अग्रज नेतृत्व पंक्तिबाट नेतृत्व र नैतिकता कुनै पनि गुण सिक्न नपाएको अवस्थामा आउने नया युवा पिडिहरुलाई आफैबाट नैतिकताको सानो उदाहरण पेस गर्दै मलाई दिन खोजिएको अमेरिकाज छेत्रीय युवासंयोजकको पद अस्विकार गर्दैछु ।
निर्वाचन प्रक्रिया पुर्याएर अमेरिकाज क्षेत्रको युवा संयोजकको लागि केहि हप्ताअगाडि उम्मेद्वारी दिएको, निर्बिरोध पनि भैसकेको र पछि निर्वाचन रद्द गर्दै एकताको नाममा तीनहजार भन्दा बढी महाधिबेशन प्रतिनिधिहरुलाई गुमराहमा राख्दै अध्यारो कोठा भित्र गरिएको भागबन्डाको सहमतिबाट मनपरी पद र पदसंख्या थपेर पदाधिकारीहरुको भर्तिगर्नु अर्थहिन र अनुत्पादक रहेको मेरो ठम्याइछ।
सहमतिको नाममा गरिएको यस प्रकारको अलोकतान्त्रिक प्रक्रियालाई समर्थन गर्न आफूलाई लज्जाबोध भएको छ । त्यसैले म सो पद अस्विकार गर्दै निर्वाचन रद्द भैसकेको हुनाले मैले प्रक्रिया पुर्याएर ३/१०/२२मा उम्मेद्वारी फारम सहित दस्तुरस्वरुप बुझाएको नेरु २५०,००० (दुइलाख पचास हजार) फिर्तापाउ भनि यो बिषयमा IES लाई निबेदन पठाइसकेको सबैमा जानकारी गराउन चहन्छु ।
मलाई सधै आत्मीय सहयोग , गहिरो विश्वास र न्यानो माया प्रधान गरिरहने आदरणीय अग्रजहरु, साथीहरु तथा शुभेक्षुकहरुमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु ।
पदबाट अलग रहँदै बाहिर बसेर प्रवासी नेपालीहरुको हक हित र आफ्नो जन्मभूमि नेपालको सेवा निम्ति सधै समर्पित रहने प्रण गर्दछु। साथै NRNA को बृहत अर्थपूर्ण एकताको कामना गर्नुको साथै अभियानमा रचनात्मक सहयोग र भूमिकाको लागि संधै तयार रहेको जानकारी गराउदछु।
नोट : मैले धेरै सोच , विचार र परामर्श गरी अन्तिम निर्णयमा पुगेको हुनाले संस्थापन पक्ष र अर्को पक्ष भनिएको मेरो नजिकका साथीभाइ इस्ट-मित्रहरु मेरो निर्णयलाई पुनर विचार गर्नको लागि कुनै कस्ट नगरिदिनुहुन अनुरोध गर्दछु । 🙏
स्वराज खाती
निबर्तमान NRNA ICC सदस्य, अमेरिकाज क्षेत्र (२०१९-२१)
निबर्तमान युवा संयोजक , NRNA NCC USA (२०१७-१९)