प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानु भयाे, आएपछि सोध्नुपर्ला : केपी ओली
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए ।
अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’
आफुले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिए । ‘युवाहरूले मेरोभन्दा बढी सक्रिय हुनुपर्छ । एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ,’ ओलीले भने ।
एमालेको हरुवा बानी नभएको उनको भनाइ छ । ‘एमालेले हार्न कहिल्यै जानेको छैन । हाम्रो हरुवा बानी होइन् । हामी जितेर देश बनाउँछौं,’ ओलीले भने ।
सामाजिक अभियान्ताको जागरण ल्याउनुपर्नेमा उनले जोड दिए । ‘हामीले सामाजिक अभियान्ताको जागरणका रूपमा काम गर्नुपर्छ । व्यक्ति व्यक्तिका बीचमा गएर हरेक क्षेत्रमा एड्भान्सपन ल्याउनुपर्छ । वैज्ञानिक चेत हामीले फैलाउनुपर्छ,’ ओलीले भने ।
माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पुर्याउने छुट अब कसैलाई नरहेको उनले बताए ।
नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको छ : केपी ओली
ओलीले नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै रक्षा गर्नुपर्ने बताएका छन् ।
एमालेनिकट शुक्रबार जनसांस्कृतिक महासंघको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै देश बिगार्नु छ भने त्यस देशको संस्कृतिमाथि आक्रमण हुने भन्दै अहिले नेपालको संस्कृतिमाथि हमला भइरहेकाले रक्षा गर्नुपर्ने बताएका हुन् ।
‘कुनै देश बिगार्नु छ भने त्यसको संस्कृति बिगारे हुन्छ । हामीहरूमाथि सांस्कृतिक हमला भइरहेको छ । त्यो हमलालाई परास्त गर्न र हाम्रो संस्कृतिलाई जीवित राख्न आवश्यक छ,’ ओलीले भने ।
राष्ट्रियता बचाउन र लोकतन्त्र प्राप्त गर्ने माध्यम संस्कृति रहेको भन्दै उनले नेपालको सभ्यता निकै पुरानो रहेको बताए ।
‘हाम्रो सभ्यता धेरै अगाडि देखिको हो । यो सभ्यता डमरु बजाएर सुरु भएको छ । त्रिशुल बोकेर नाचेर सुरु भएको सभ्यता छ । यो सभ्यता शिव नाट्यबाट सुरु भएको छ । यो सभ्यता शैव दर्शन, सांख्य दर्शनबाट सुरु भएको छ,’ ओलीले भने, यो सभ्यता यहीँबाट सुरु भएको छ भने शिव यहीँका थिए । सांख्य दर्शनका प्रणेता कपिल मुनी पनि यहीँका थिए ।’
नेपालको सभ्यतामाथि आक्रमण भएको बताएका ओलीले कसले र किन नेपालको संस्कृतिमा आक्रमण गरेको भन्ने विषयमा भने केही खुलाएनन् ।