एनआरएनए आइसीसीको पहिलो बैठक : “काठमाडौंमा बृद्धाश्रम बनाउने निर्णय”
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसीको) पहिलो बैठकले काठमाडौंमा बृद्धाश्रम बनाउने निर्णय गरेको छ ।
एनआरएनएको मुख्यालय बालुवाटारमा सोमवार बसेको नव मनोनित कमिटिको पहिलो बैठकमा तीन मध्येका एक अध्यक्ष कुल आचार्यले राखेको बृद्धाश्रम बनाउने प्रस्तावलाई सर्वसम्वत पारित भएको हो ।
“भोलीका दिनमा हामीलाई नै बस्नु पर्ने हुन्छ,हाम्रा बाआमालाई पनि बस्नु पर्ने हुन्छ, म मिले सम्म पशुपतिक्षेत्रमा नभए पनि अयन्त्र नेपाल सरकार सँग जग्गा मागेर एउटा बृद्धाश्रम बनाउने प्रस्ताव राख्दछु साथिहरुले समहमति जनाइदिनु होला ।” अध्यक्ष आचार्यको भनाइलाई उदृत गर्दै बैठकमा सहभागि एक सदस्यले सामाज टाइम्सलाई बताए ।
ढेड बर्षको कार्यकालका लागि तीन अध्यक्ष मध्ये पहिलो ६ महिना आचार्यले बैठकको अध्यक्षता गर्ने पूर्व सहमति अनुसार सोमवारको बैठकको अध्यक्षता कुल आचार्यले गरेका हुन् ।
आचार्यले अत्याधुनिक सुविधा सम्पन्न एक सय भन्दा बढी कोठाको बृद्धाश्रम बनाइने बताए । जसको अनुमानित बजेट १५ करोड रहेको छ ।
बैठकमा उनले बृद्धाश्रमका लागि एक करोड दिने घोषणा समेत गरेका छन् । यस्तै अध्यक्षद्वय रबिना थापा र डाक्टर बद्री केसीले एक एक लाख दिने घोषणा गरेका छन् ।
अध्यक्ष आचार्यको घोषणा पछि बैठकमा सहभागि केही पदाधिकारीले सहयोगको प्रतिवद्दता गरेका छन् । उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव गौरी जोशि र कोषाध्यक्ष सुनिल शाहले २५-२५ लाखको प्रतिवद्दता गरेका छन् ।
यस्तै अर्का महासचिव डाक्टर केशव पौडेलले १० तथा उपाध्यक्ष धर्मराज अधिकारीले पाँच लाख रुपैयाको प्रतिवद्दता गरेका छन् ।
मध्यपूर्वबाट मनोज गोर्खालीले व्यक्तिगत एक लाख र समग्रमा एक करोड उठाउने प्रतिज्ञा गरेका छन् ।
पहिलो दिनको बैठकमा कुल तीन करोड ५६ लाख ९२ हजार दुइ सय २२ रुपैयाको कबुल भएको ती सदस्यले समाज टाइम्सलाई बताए ।
यस्तै बैकठले आइसीसीको कार्यविधि बनाउन उपाध्यक्ष डाक्टर हेमराज शर्माको संयोजकत्वमा पाँच सदस्यीय कमिटि गरेको छ । समिटिको सदस्यमा दुबै महासचिव र प्रवक्ता रहेको जनाइएको छ ।
यस्तै आइसीसीको बैक खाता तीन अध्यक्ष र तीन कोषाध्यक्षले संयुक्तरुपमा चलाउने निर्णय पनि पहिलो बैठकले गरेको छ ।
यसै बीच आइसीसीको दोस्रो बैठक अप्रिल ९ तारिक बस्ने भएको छ। सो बैठक अगाडि नै मनोनयन शुल्क तिर्नबाँकी पदाधिकारीलाई शुल्क तिर्न बैठकले अनुरोध गरेको छ ।