भारतमा पाँच राज्यमा विधानसभा निर्वाचन : तीन ओटामा भाजपा र पन्जाबमा आम आदमीको विजय निश्चित
नयाँ दिल्ली । भारतका पाँच राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतगणनाका प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ । पाँच राज्यहरुमध्ये पन्जाबमा आम आदमीकाे विजय निश्चित देखिन्छ भने तीन राज्यहरु– उत्तर प्रदेश, उत्तराखन्ड र मणीपुरमा भाजपाले जित्ने देखिएको छ ।
त्यस्तै, गोवामा पनि भाजपाको अग्रता छ । यी प्रदेशमा आफ्नो विजय निश्चित देखिएको भन्दै पन्जावमा आम आदमी र अन्य प्रदेशहरुमा भाजपाले विजयोत्सव मनाउन थालेका छन् ।
सहज अन्तरले अगाडि रहेको उत्तर प्रदेशको नतिजाले भने सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा भाजपाका लागि धेरै अर्थ राख्ने जनाइएको छ ।
सार्वजनिक भइरहेका नतिजाले देशकै पुरानो पार्टी पाँचै राज्यमा लज्जास्पद पराजय चाख्ने देखिएको छ । भाजपाका तर्फबाट नरेन्द्र मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि कंग्रेसले निरन्तर पराजय चाखेको विश्लेषकहरुको टिप्पणी छ ।
कठिन प्रतिष्प्रर्धा गरेको कंग्रेसले गोवामा प्रष्ट बहुमत नल्याउने प्रारम्भिक रुझानले देखाएको छ । ४० सीट रहेको गोवाआमा पछिल्लो रुझानमा भाजपा १८ र कंग्रेसको ११ सिटमा अग्रता छ । त्यस्तै क्षत्रीय पार्टी त्रिणमूल कंग्रेस ४ र आम आद्मी पार्टी ३ सिटमा अगाडि देखिएका छन् ।
मतगणना जारी भइरहँदा ४०३ सिट रहेको उत्तर प्रदेशमा २६७ सिटसहित भाजपा अगाडि छ भने समाजवादी पार्टीले १२४ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै, कंग्रेस ४ सिटमा अगाडि छ । त्यसैगरी ११७ सीट रहेको पन्जाबमा आम आद्मी ९० सिट र कंग्रेस १८ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै पुरानो पार्टी अकलीले ६ सिटमा अग्रता कायम गरेको छ । पन्जाबमा भाजपाको भने २ सिटमा मात्र अग्रता देखिन्छ ।
कुल ७० सिट रहेको उत्तराखन्डमा मतगणनाको पछिल्लो रुझानमा भाजपा ४४ र कंग्रेस २२ स्थानमा अगाडि देखिएको छ ।
पन्जावमा आम आदमीलाई अप्रत्यासित सफलता
पन्जाव प्रान्तमा आम आदमी पार्टीले अप्रत्यासित सफलता प्राप्त गर्ने देखिएको छ । मतगणनाकाे सुरुवाती रुझानमा आम आदमी पार्टी विजयउन्मुख देखिएको छ । त्यस्तै, कांग्रेसले पार्टीले केबल १४ सीटमा अग्रता कायम गरेकाे छ ।
११७ सिट भएको पन्जाबमा आम आद्मी ९१ सीटमा अगाडि देखिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।
पन्जावमा आपको उदयले देशकै सबैभन्दा पुरानो पार्टी कंग्रेसलाई ठूलो धक्का लागेको छ । पन्जावमा आम अादमीकाे विजय निश्चत भएसँगै अरबिन्द केजरीवालका लागि दिल्लीबाहिर पहिलो ठूलो सफलता हुनेछ ।
पन्जावमा आपले भागवन्त सिंह मनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । ४८ वर्षीय मन सन् २०१४ मा आम अादमी पार्टीमा प्रवेश गरेका थिए । सन् २०१९ को निर्वाचनमा पन्जाबबाट लोकसभा चुनाव जित्ने आपका एक मात्र उम्मेदवार हुन् ।
बिहीबार पाँच वटा राज्यमा विधान सभा चुनावको मतगणना जारी छ । उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरमा मतगणना भइरहेको छ ।