फुटबलको राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणका लागि २५ खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताईरीले थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
नेपालले थाइल्यान्डसँग १० चैतमा एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र १३ चैतमा स्थानीय टोली चोनबुरी एफसीसँग खेल्ने तालिका छ । दुबै खेल थाइल्यान्डको चोनबुरीमा हुनेछ ।
नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
यसअघि नेपालले घरेलु मैदानमा मोरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसको दुबै खेलमा नेपालले पहिलो आधिकारिक अफ्रिकी पाहुना टोलीविरुद्ध १–० को जित निकालेको थियो ।
एएफसी एसियन कप छनोटको ‘ड्र’ सार्वजनिक भइसकेको छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।
नेपाली टोली
किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दिप कार्की, आशिष लामा, आयुश घलान, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, प्रशान्त अवस्थी, नविन गुरुङ, दर्शन गुरुङ, नितीन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरजजिउ ठकुरी, तेज तामाङ, सुबास गुरुङ, रोहित चन्द र जगजित श्रेष्ठ
एएफसी तालिका जुध्दा मछिन्द्रका खेलाडी टिम बाहिरः व्यवस्थापक उपाध्याय
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले मछिन्द्र फुटबल क्लबले एएफसी कप खेल्ने तालिका रहेका कारण क्लबका खेलाडीलाई ‘कल’ नगरिएको बताएका छन् । ‘यो मैत्रीपूर्ण खेल हो । त्यसै कारण मछिन्द्रसँगको सहकार्यमै खेलाडीलाई राष्ट्रिय टोलीमा कल नगरिएको हो,’ उपाध्यायले भने ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् । जहाँ मछिन्द्रका सात खेलाडी नै टोली बाहिर छन् । दोस्रोपटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको मछिन्द्रबाट सर्वाेत्कृष्ट खेलाडी चुनिएका सुनिल बल र उत्कृष्ट गोलरक्षक विशाल श्रेष्ठ नै टोली बाहिर रहेका हुन् ।
नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले सुनिल र विशाल श्रेष्ठसँगै मछिन्द्रका कप्तान सुजल श्रेष्ठ, फरवार्ड विमल घर्ति मगर र मिडफिल्डर मनिष डांगी, विशाल राई ‘बी’ र रक्षक देवेन्द्र तामाङलाई बाहिर राखेका छन् । नेपालले १० चैतमा थाइल्यान्डसँग खेल्नेछ भने १३ चैतमा चोनबुरीसँग खेल्नेछ । दुबै खेल चोनबुरीमा हुनेछ ।
मछिन्द्रले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्दैछ । उसले २२ चैतमा एएफसी कपको प्रारम्भिक छनोटमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार दशरथ रंगशालामा खेल्दैछ ।