प्रहरीको कुटाइबाट कालिकोटका व्यापारीको मृत्यु भएको आशंका : छानविन समिति गठन
सुर्खेत । कालिकोटका एक व्यापारीको शंकास्पद मृत्यु भएको बिषयमा छानबिन हुने भएको छ । नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीया कृष्ण हमाल(मिनी)को शंकास्पद मृत्यु भएको थियो ।
हमालको मृत्युका बिषयमा आफन्त र जिल्ला प्रशासन कार्यालयबीच छानबिन समिति गठन गर्ने सहमति भएको हो ।
घटनाका बिषयमा सत्यतथ्य गर्नका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तिमगर, अनुसान्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएन सुर्खेत अध्यक्ष उत्तमप्रसाद आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।
छानबिन समितिले तिन दिन भित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने, छानविन समितिले पेश गरेको प्रतिवेदनका आधारमा जुनसुकै व्यक्ति दोषी देखिएता पनि कानुनी कारवाही अगाडी बढाउने र छानविनको कामलाई सहज बनाउनका लागि बिरोधका कार्यक्रम नगर्ने र पोष्टमार्टमका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
प्रहरीले कुटेको आफन्तको आरोप
नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मिन हमालको मृत्यु भएको हो ।
व्यापारी हमाल नेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जादैँ थिए । त्यही क्रममा सुर्खेत वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा सामान बढी हालेको बिषयमा प्रहरीसँग वादविवाद भएको थियो । विवादकै क्रममा प्रहरीले कुटेको हमालको आफन्तको आरोप छ ।
नेपालगञ्जबाट भे१क ९२२ नम्बरको ट्रकमा सामान लिएर हिँडेका उनलाई सुब्बाकुना प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तको आरोप छ ।
मृत्तकका काका कलमबहादुर हमालका अनुसार गाडीका दुई जना स्टाफलाई प्रहरीले कुटेपछि यसो नगर्न हमालले आग्रह गरेका थिए । झन् त्यस पछि उनीमाथिनै प्रहरी जाइ लागेको कमलबहादुरले बताए । ‘प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको थियो ।’ उनले भने ।
हमालको शव सुर्खेत हस्पिटलमा राखिएको छ । कालिकोटबाट आफन्त आउँदै गरेको जनाएइको छ । हमालको मृत्यु शंकास्पद भएकाले छानबिनको माग गरेको मृतकका छिमेकी रनबहादुर खत्रीले बताए ।
के कति कारणले मृत्यु भयो भन्ने बारे अनुशन्धान भइरहेको सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले बताए । ‘कुटपिटपछि मृत्यु भन्ने खबर आयो ।’ उनले भने, ‘विस्तृत विवरण बुझ्दैछौं । अनुसन्धानपछि सबै खुल्नेछ ।’
हमालको कालिकोटका तिलागुफा नगरपालिका–१ मा व्यापार गर्दै आएका थिए ।