नो–फ्लाई जोन अस्वीकार गरेपछि नेटोसँग युक्रेनी राष्ट्रपति जेलेन्स्की असन्तुष्ट, उनी तीन पटक हत्या प्रयासबाट बचेको दाबी
किभ–अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले ‘नो–फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले नेटोकाे आलोचना गरेका छन् ।
यसअघि नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगर्ने बताएका थिए ।
नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढंगले सहयोग गर्ने उनले बताएका थिए । यसैबीच, रुसी हमलाका कारण १२ लाख मानिस युक्रेन छोडेको राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च निकायले जनाएको छ । युक्रेनमाथि रुसी हमलाको १०औ दिन शनिवार पनि विभिन्न सहरमा हमला भइरहेका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्की तीन ओटा हत्या प्रयासबाट बचेको दाबी
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ । जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको सो पत्रिकाले दाबी गरेको छ । दुबैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ छ ।
रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको युद्धविरोधी तत्वहरुले राष्ट्रपतिको हत्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ । राष्ट्रपतिको हत्या प्रयास गत साताको अन्त्यतिर बिथोलिएको विवरण अमेरिकी पत्रिका वासिंगटन पोस्टले पनि लेखेको छ ।
राष्ट्रपतिको हत्या पछाडि लागि परेको बताइएका चेचेन विशेष फौजलाई युक्रेनी एक सुरक्षा नेताले समाप्त पारिदिएको सो पत्रिकाले जनाएको थियो । रुसी सेनाले युक्रेन हमलालाई झनै आक्रमक बनाएको छ । शुक्रबार मात्र रुसी सेनाले युक्रेनको आणविक केन्द्रमा आगो लगाइदिएको थियो । आगो लगाइदिएपछि सो केन्द्र अहिले रुसी सेनाको नियन्त्रणमा छ ।
युरोपकै ठूलो बताइएको सो आणविक केन्द्रमा भएको हमलाको विश्व समुदायले निन्दा गरेको छ ।