हामीले यसपटक नजितेका मात्र हौ, हारेका हैनौ : डेलिगेट डा. ह्यारी भण्डारी
टेक्सास डिस्ट्रिक्ट ९२ मा नेपाली डेलिगेट हुने ठूलो अवसर थियो, त्यसका लागि मित्र दिनेश शर्मा मैदानमा हुनुहुन्थ्यो भने हामी सबै उहाँको समर्थनमा थियौ।
परिणाम आइसकेको छ, हामीले यसपटक जितेनौ तर हारेका पनि छैनौ। किनकि, राजनीति एक सय मिटरको दौड हैन, यो त लामो रिले दौड हो। हामीले राजनीतिको यो रिले दौड छोडेका छैनौ, फेरि अर्को पटक हामी दौडिन्छौं। त्यतिबेलासम्म दौडिन्छौं, जतिबेलासम्म जित्देनौ।
भनाइ नै छ, जस्ले हार्न जान्दैन उस्ले जित्न पनि जान्दैन। हामीले यसपटक हार्न जान्यौ, जान्नुपर्छ । अर्कोपटक जित्न जान्नेछौं।
हो, यो परिणाम अलि अस्वभाविक छ। तर, जे जस्तो भए पनि यो नै अहिलेको यथार्थ हो। हामी सबैले यसबाट पाठहरू सिक्नुपर्छ र अर्कोपटक हामीले बुझाउन नसकेको पाठ छिचोलेर मतदातालाई बुझाउनुपर्छ।
म मित्र श्री दिनेश शर्माले यसपटक गर्नसुभएको साहसिलो प्रयाशलाई सम्मान गर्दछु र अहिलेको परिणामबाट कति पनि विचलित नभइ राजनीतिको यात्रामा अनवरत अगाडि बढ्न शुभकामना दिन चाहन्छु। साथै, टेक्सासको नेपाली समुदायलाई पनि निराश नहुन र नथाक्न आग्रह गर्दछु। किनकि, राजनीतिको शव्दकोशमा निराशा र थकाइ भन्ने शव्द नै हुदैन, हुनु हुदैन।
म यसपटकको प्राइमरीमा विजयी भएर टेक्सास डिस्ट्रिक्ट ९२को डेमोक्रेटिक उम्मेद्वार हुन सफल हुनु भएका श्री सल्मान भोजानीलाई हार्दिक वधाइ ज्ञापन गर्दछु र आगामी चुनावमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गर्दछु। रातो रङ क्रमश: नीलो हुँदै गएको टेक्सासमा उहाँको विजयले त्यसको गतिलाई अरू रफ्तार दिनेछ भन्ने मेरो विश्वास रहेको छ।
हामीले के बिर्सनु हुदैन भने यो चुनावमा जित्ने र नजित्ने दुबै डेमोक्रेट हुनुहुन्छ। हामी यसपटक नजित्नेतिर भयौ, यो हाम्रो पहिलो प्रयास हो, अन्तिम हैन।
टेक्सासको नेपाली समुदायसँगै हुने वचनवद्धताका साथ,
डेलिगेट ह्यारी भण्डारी, पीएचडी
मेरिल्याण्ड डिस्ट्रिक्ट ८