सहिद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेन्ड्स र शेर्पाले अंक बाँडे,बिदाइ खेलमा च्यासल पराजित
काठमाडौं । हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिग–२०७८ को अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
बिहीबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गर्दै बराबरी खेलेका हुन् ।
बराबरसँगै फ्रेन्ड्सले १२औँ स्थानमा रहेर लिग टुंगाएको छ । १३ खेलबाट ११ अंक बनाएको फ्रेन्ड्स एक खेलअघि रेलिगेसन जोनबाट बचेको थियो ।
यता, शेर्पा भने १३ खेलबाट १४ अंकसहित नवौँ स्थानमा छ । उसको भने स्थान टुंगो लागेको छैन । नेपाल पुलिसको खेलपछि शेर्पा र पुलिस दुबैको स्थान पक्का हुनेछ ।
खेलको ८७औँ मिनेटमा फ्रेन्ड्सका श्याम बाबु क्यापछकीले गोल गर्दै अग्रता दिलाए । तर, दुई मिनेट नबित्दै शेर्पाका विशोन गुरुङले बराबरी गोल फर्काए ।
बिदाइ खेलमा च्यासल पराजित
दोस्रो डिभिजनमा घटुवा भइसकेको च्यासल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा पनि पराजित भएको छ । बिहीबार भएको अन्तिम चरणको खेलमा च्यासल सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भयो ।
लगातार तेस्रो पटक लिग खेलिरहेको च्यासल दुई खेल अगावै दोस्रो डिभिजनमा घटुवा भइसकेको छ । हारसँगै च्यासलले १३ खेलबाट ६ अंक जोड्दै लिग पूरा गरेको छ । च्यासलले लिगमा एक जित, तीन बराबरी र नौ खेलमा हारको नतिजा निकाल्यो । अन्तिम स्थानमा रहेको च्यासलसँगै ब्रिगेड ब्वाइज दोस्रो डिभिजनमा घटुवा भएको छ ।
च्यासलमाथिको जितसँगै सातदोबाटो भने तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगका १३ खेलमध्ये ६ मा जित, तीनमा बराबर र चार खेलमा पराजयको नतिजा आत्मसाथ गर्यो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको छैठौँ मिनेटमा अजयी मार्टिन्सले गरेको गोल नै सातदोबाटोको जितका लागि पर्याप्त बन्यो । मिडफिल्डर सुदीप गुरुङले मैदानको बीच भागबाट दिएको पासमा अजयीले पेनाल्टी एरिया भित्रबाट सुन्दर गोल गरेका थिए ।
जारी लिगको मार्टिन्सको यो छैठौँ गोल हो । साविक विजेता मछिन्द्र फुटबल क्लबले ११औँ चरणमा सातदोबाटोलाई पराजित गर्दै लिगको उपाधि रक्षा गरेको थियो ।
यस सिजनको लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको छ भने ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र च्यासल युथ क्लब दोस्रो डिभिजनमा घटुवा भएका छन् ।