अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा रुसका राष्ट्रपतिको प्रशंसा, भन्छन :’म राष्ट्रपति भएको भए युक्रेनमाथि रुसको आक्रमण हुने नै थिएन’
अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको पछिल्लो कदमको प्रशंसा गरेका छन् । जवकी राष्ट्रपति जो बाइडेनले पुटिनको कडा आलोचना गर्दै वित्तिय प्रतिवन्ध घोषणा गरेका छन् ।
पूर्व राष्ट्रपति ट्रम्पले युक्रेनप्रति रुसको आक्रामकतालाई “प्रतिभाशाली” भनेका छन् । यस्तै उनले युक्रेनी सीमामा तैनाथ सेनाहरूलाई शान्ति सेनाको रूपमा वर्णन गरेकोमा रूसका राष्ट्रपति पुटिनलाई “धेरै समझदार” भनेका छन् ।
ट्रम्पले मङ्गलबार क्ले ट्राभिस र बक सेक्स्टनले आयोजना गरेको कन्जरभेटिभ टक रेडियो कार्यक्रममा आफ्नो टिप्पणी राखेका हुन् ।
“पुटिनले अहिले युक्रेनको ठूलो भाग, ‘यो स्वतन्त्र छ’ भनिरहेका छन्,‘कति स्मार्ट छ?’ ट्रम्पले भने ।
रिपब्लिकनहरू रुसी आक्रमणको जवाफ कसरी दिने भन्नेमा विभाजित छन् । दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहम रूस विरुद्ध कठोर प्रतिबन्धहरूको पक्षमा छन् । जबकि ट्रम्प समर्थक ओहायोमा सिनेट उम्मेदवार जेडी भान्स अमेरिकाले रूसलाई सजाय दिनु हुँदैन भन्ने पक्षमा छन् ।
ट्रम्पले आफू राष्ट्रपति भएको भए युक्रेनमाथिको रुसी आक्रमण नहुने दावी समेत गरेका छन् । रेडियो अन्तर्वार्तामा ट्रम्पले आफुले पुटिन सँग ह्वाइट हाउसमा हुँदा युक्रेनमा सम्भावित आक्रमणको बारेमा छलफल गरेको पनि खुलसा गरेका छन् ।