सदस्यता शुल्क मार्च ३ सम्म तिर्न एनआरएनए आइसीसीको ५ राष्ट्रलाई ताकेता, एनसीसी अमेरिका भन्छ, ‘यो पटक हामी तिर्दैनौं’
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले आफ्ना सदस्य रहेका पाँच राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई मार्च ३ तारिक सम्म सदस्यता शुल्क तिर्न ताकेता गरेको छ ।
आइसीसीले तोकिएको मिति सम्म सदस्यता शुल्क नबुझाए सम्वन्ध खारेज गरिदिने धम्की दिएको छ ।
आइसीसीका लागि हुने निर्वाचनमा प्रतिनिधि छनौटमा विवाद भए सँगै धेरै सदस्य भएका पाँच एनसीसीले आइसीसीलाई तिर्नु पर्ने सदस्यता शुल्क रोकेर राखेका छन् ।
आइसीसीका अनुसार एनआरएनए एनसीसी अष्ट्रेलिया, युके, अमेरिका, जापान र क्यानडाले सदस्य शुल्क तिरेका छैनन् ।
आइसीसीका अध्यक्ष कुमार पन्तको हस्ताक्षर र मंगलवारको मिति रहेको पत्रमा मार्च ३ तारिक सम्म शुल्क नबुझाए आसन्न निर्वाचनमा भाग लिन नदिने र आइसीसी सँगको सम्वन्धन नै खारेज गरिदिने चेतावनी दिइएको छ ।
एनसीसीहरुले आइसीसी प्रतिनिधि छनौट सम्वन्धि विवाद नसुल्टिए सम्म सदस्य शुल्क नतिर्ने बताउदै आएका छन् । विवादकै कारण गत अक्टुवरमा हुनु पर्ने एनआरएनए आइसीसीको निर्वाचन अहिले सम्म हुन् सकेको छैन ।
विवाद मिलाउनकै लागि भनेर प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा उच्च स्तरिय समिति गठन गरिएको छ । तर सो समितिले आफ्नो प्रतिवेदन बुझाउनु अगाडि नै आइसीसीले चुनावी प्रक्रिया अगाडि बढाएको छ । आइसीसीले मार्च २२ र २३ तारिकका लागि निर्वाचनको मिति तोकेको छ । तर अझै पनि सो मितिमा निर्वाचन हुन्छ भन्ने एकिन छैन ।
एनआरएनएको विधान अनुसार एक जना सदस्यबाट पाँच अमेरिकी डलर आइसीसीलाई बुझाउनु पर्ने हुन्छ ।
हामी यो पटकको शुल्क तिर्दैनौ : बुद्दि सागर सुवेदी
चेतावनी सहितको पत्र पाए पनि एनसीसी अमेरिकाले यस पटकको सदस्य शुल्क आइसीसीमा नपठाउने भएको छ । एनसीसी अमेरिकाका अध्यक्ष बुद्दि सागर सुवेदीले आफुहरु भवन किन्ने योजनामा रहेको कारण यो पटक आइसीसीमा पठाउनु पर्ने शुल्क नपठाउने निर्णय पहिले नै गरि सकेको बताउछ ।
समाज टाइम्स सँगको कुराकानीमा सुवेदीले भने,’अरु एनसीसी र अमेरिकाको फरक छ हामीले प्रतिनिधि छनौटको विवाद आउनु अगाडि नै यो पटक सदस्य शुल्क आइसीसीलाई नपठाउने भनेर निर्णय गरेका हौ ।’
सुवेदीका अनुसार एनसीसी अमेरिकाको निवर्तमान र वर्तमान दुबै कमिटीको बोर्ड बैठकले यस बारेमा निर्णय नै गरेको छ । सुवेदी अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए ।
‘काठमडौंमा एनआरएनए आइसीसीको भवन बनाउदा सबै भन्दा धेरै सहयोग गर्ने अमेरिका नै हो त्यस कारण यस पटक हामी आफै भवन किन्ने भएको हुदाँ आइसीसीले सहयोग गर्नु पर्छ भन्ने हो ।’
दुई वटा बोर्ड बैठकले गरेको निर्णय आफुले उल्टाउन नसक्ने सुवेदीले बताए । सदस्य शुल्क नतिरे त सम्वन्ध खारेज गरिदिने भनेको छ नी भन्ने प्रश्नमा सुवेदीले भने ‘त्यसो भयो भने हामी पनि केही कदम चालौला ।’
‘आइसीसीलाई आवश्यक पर्दा सबै भन्दा धेरै सहयोग गर्ने अमेरिका नै हो अहिले हामीलाई सहयोग चाहिएको बेलामा आइसीसीले नगर्ने भन्ने हुदैन तर खै किन हो यो विषयमा बुझ पचाउने काम गरिएको छ।’ सुवेदीले भने ।
अमेरिकामा यो पटक २० हजार एक सय ३९ जना सदस्य छन् । एक जनाको पाँच डलरका दरले एक लाख ६ सय ९५ डलर आइसीसीलाई तिर्नु पर्ने हुन्छ ।