एनआरएनएको न्युयोर्क कार्यक्रममा अर्को हङ्गमा : ‘गुपचुप समवन्ध,व्यक्तिगत इगो र अपरिपक्क निर्णय
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएरनए) भन्ने संस्था अब विवादको पर्यावाची नै बनेको छ । ‘जहाँ एनआरएनए त्यहाँ विवाद’ ।
राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको न्यूयोर्कमा शनिवार साँझ भएको कार्यक्रम फेरि विवादित बन्यो । खासमा एनआरएनए अमेरिका अहिले आफ्नै भवन खोजिमा छ ।
बीस हजार भन्दा बढी सदस्य भएको अमेरिका अहिले सम्म खल्तिबाटै चल्दै आएको छ । ‘अध्यक्षको घर नै एनआरएनए अमेरिकाको कार्यलय’ भन्ने परम्परालाई तोड्न सन् २०२२ भित्र आफ्नै घर किन्ने अभियान अन्तर्गत शनिवार साँझ न्युयोर्कमा अन्तर्क्रियाको आयोजना गरिएको थियो ।
तर कार्यक्रमको शुरुवात हुलहुज्जतमा परिणत भयो । फेसबुक पेजमा लाइभ गरिएको (अहिले सो भिडियो पेजबाट हटाइएको छ) केही व्यक्तिको व्यवहार अस्वाभाविक थियो । विषेश गरि आफुलाई एनआरएनए अभियान्ता भन्ने किशोर रेग्मी, सुवोतजङ्ग खाती लगायतका युवा आक्रोशित रुपमा प्रस्तुत भए ।
उनीहरुले उठान गरेका मुद्दा मानविय संवेदना सँग जोडिएका थिए । भलै उनीहरुको प्रस्तुती खराव थियो । तर शनिवारको न्यूयोर्क घटनाले एउटा दुखद घटना फेरि उल्झिएको छ । खाटा बसेका केही घाउहरु कोट्टिएका छन् । लुकाउन खोजिएका केही सम्वन्ध छताछुल्ल भएका छन् ।
गत जुलाईमा न्यूयोर्कको नेपाली समाजमा एउटा दुखद घटना भयो । पर्वतका २७ बर्षिया युवा विपिन लम्सालको निधन भयो । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका प्रवक्ता रामचन्द्र अधिकारीका अनुसार दिनभर काम गरेर आएका लम्साल बाथरुममा लढेको भनेर अस्पताल ल्याइएको थियो ।
‘फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे,उपाध्यक्ष सुवर्ण लामा र म लगायतका साथिहरु खवर पाउना साथ अस्पताल पुगेका थियौ,बाथरुममा लढेको भनेर अचेत अवस्थामा अस्पताल पुर्याइएको रहेछ तर उपचार नै हुन पाएन ।’ शनिवारको घटनाका पनि प्रत्यक्षदर्शि अधिकारीले समाज टाइम्स सँग भने ।
गोप्य सम्वन्ध र पैसाको लोभ
विपिन लम्शाल निकटका अनुसार उनी उबर चलाउथे । स्थलमार्ग (तल्लोबाटो) हुँदै अमेरिका आएका विपिन कागजपत्र मिलाउने प्रक्रियामा नै थिए । यो कुरा उनको घर परिवारलाई समेत थाहा थियो । तर उनको निधन पछि अर्को पाटो पनि खुल्यो उनको गोप्य सम्वन्ध ।
अस्पतालमा हुदाँ शुरुमा एक महिलाले (गोपनियताका कारण नाम उल्लेख नगरिएको) ले आफु विपिनको श्रीमती भएको बताएकी थिइन । तर नातेदार र कानुनी रुपमा पनि विपिन अविभावित थिए ।
नेपालमा रहेका बाबु आमाले आफ्ना एक्ला छोरा विपिनको शव नेपाल नै पठाइदिन आग्रह गरे । त्यसका लागि कानुनी प्रक्रिया पुरा गर्न नेपालीमुलका एक मात्र अमेरिकी डेलिगेट डाक्टर ह्रयारी भण्डारी लागे । एनआरएनले गोफण्ड मार्फत आर्थिक सहयोग उठाउन शुरु गर्यो ।
समाज टाइम्स सँगको कुराकानीमा किशोर रेग्मीले बताए अनुसार गोफण्ड उठाउने समयमा ति महिलाले आफुलाई विपिन सँग नजोडिदिन आग्रह गरेकि थिइन । रेग्मीका अनुसार विपिनका बाबु आमालाई पनि छोराको कुनै महिला सँगको सम्वन्धका बारेमा थाहा थिएन ।
‘मैले आफैले पनि सोधेको हो तिमि नेपाल जान के गर्छौ किरिया बस्न के गर्छौ भनेर तर उनले विपिन त रुममेट मात्र हो अरु केही सम्वन्ध छैन भनेकी हुन तर पछि एनआरएनले उनलाई श्रीमति भनेर पैसा दिन कसरी मिल्छ ।’ रेग्मीको प्रश्न छ ।
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दिसागर सुवेदीका अनुसार जव आर्थिक सहयोग उठायो त्यस पछि ति महिलाले कुरा फेरिन । उनले विपिन सँग सांस्कृतिक बिहे गरेको भन्दै उनको नाममा उठाइएको रकममा दावी गरिन् ।
‘बिहे गरेको फोटो र भिडियो सहित उनले हामी समक्ष विपिनको नाममा उठाइएको रकम नदिए महिला अधिकारवादी कहाँ जाने धम्की दिइन ।’ समाज टाइम्स सँग सुवेदीले भने । ‘अवैतनिकमहावाणिज्य दूत ऋषि ढकालको हस्ताक्षर भएको विहे सम्वन्धी पत्र नै पेश गरेपछि कार्यसमितिको बैठकले ति महिलालाई पनि पैसा दिने निर्णय गरिएको हो ।’
तर रेग्मी यो कुरा मान्न तयार छैनन । ‘विपिनको श्रीमती हु भनेर कसैले दावी गर्दैमा उनलाई पैसा दिन कहाँ मिल्छ ?’
कार्यक्रममा आक्रोसित रुपमा प्रस्तुत भएका सुवोतजङ्ग पनि सुवेदीको भनाइमा सहमत छैनन् । ‘बिवाह गरेको कसैलाई थाहा छैन किरिया पनि बसेको छैन कानुनीरुपमा दर्ता पनि छैन मान्छेको निधन पछि कसैले दावी गर्दैमा उसलाई श्रीमतिको दर्जा दिने अधिकार एनआरएनएलाई कसले दियो ?’ खातिको प्रश्न छ ।
सुवेदी भने आफुहरुले राम्रो कामका लागि निर्णय गरेको तर अनावश्यक विवाद झिकिएको बताउछन् । ‘कोभिडका कारण अदालतमा विहे दर्ता गराउन मात्र नसकिएको हो साँस्कृतिक विवाह भएको हो भन्दै प्रमाण पेश गरे पछि संस्थालाई पछि थप झमेलामा नपारौ भन्ने भयो, नारी संवेदनाका कुरा पनि आए त्यही भएर हामी पदाधिकारीहरुले नै बेहोर्ने गरि चार हजार डलर ती महिलालाई दिएका हौं ।’
‘मानविय संवेदनशिलताको कुरामा किन कानुनी झमेला गर्ने भन्नेमा हामी गयौ तर अहिले किन यो कुरा उठाइयो हामी आश्चर्यमा छौ ।’ सुवेदी भन्छन ।
‘काजक्रिया गर्ने समयमा विपिन सँगको सम्वन्ध अस्वीकार गर्ने तर उनको नाममा उठाइएको आर्थिक साहायतामा दावी गर्ने महिलालाई श्रीमती दर्जा दिन अधिकार एनआरएनलाई कसले दियो ? रेग्मीको प्रश्न छ ।
त्यसो त अत्यन्त संवेदनशिल मानविय कुरा, कानुनी विषय र व्यक्तिका नीति कुरामा एनआरएनए अमेरिकाको अपरिपक्क र अनावश्यक निर्णय मात्र होइन नगद भुक्तानीको प्रकृयाले विवादलाई उर्जा दिएको देखिन्छ ।
समयमा पैसा नपठाउनु तनावको अर्को कारण
कार्यक्रमा उग्ररुपमा प्रस्तुत भएका खातीले उठाएको अर्को मुद्दा भनेको उठाइएको सहयोग समयमा नै किन भुक्तानी दिइएन भन्ने रहेको छ ।
अध्यक्ष सुवेदी उठाइएको पैसा कसको नाममा दिने भन्ने अन्यौलका कारण ढिलो भएको दाबी गर्छन । ‘गोफण्डले हामीलाई दिन नै एक महिना भन्दा बढी समय लाग्यो, त्यसमा पनि ति महिलाको दावीले के गर्ने के भन्ने भयो त्यो कुरा सल्टाउनै पनि समय लाग्यो ।’
अर्को तर्फ एनआरएनएले कुन व्यक्तिको नाममा डब्लु ९ बनाउने भन्ने कुरामा पनि समस्या भएको सुवेदीको भनाइ छ ।
‘विपिनका बाबु आमाले खातीलाई अधिकार दिएका थिए तर के कारण खातीले हामीलाई डब्लु ९ दिन मान्नु भएन फेरि अर्को व्यक्तिको नाममा डब्लु ९ बनाउदा केही समय लागेको हो ।’
तर खाती सुवेदीको भनाई मान्न तयर छैनन । पाँच महिना पछि मात्र उनीहरुले डब्लु ९ मागेका हुन् । त्यो भन्दा ठूलो कुरा ति महिलालाई कसरी पैसा दिइयो भन्ने मेरो प्रश्न थियो खाती भन्छन् । यस्तै खातिका अनुसार विपिनको नाममा उठाइएको रकम मध्ये चार हजार डलर उनका बाबु आमाले अझै पाएका छैनन ।
सुवेदी त्यो पैसा कार्यसमितिका पदाधिकारीबाट नै उठाएर दिने निर्णय भएको जसमा २५ सय उठिसकेको र बाँकी पनि अब छिट्टै पठाइने बताउछन् ।
अध्यक्ष सुवेदी भन्छन,’हामीले गुडविलका लागि नै काम गरेका हौ तर एउटा समुहले नियोजित रुपमा यो घटना उचालेर बदनाम गराउन लागेको छ ।’
‘मलाई कसैले प्रयोग गरेको छैन,यो आरोप मात्र हो ।’ खाति भन्छन्,’ पिडा नसुने पछिको आक्रोस हो, पटक पटक फोन नउठाउने, कुरै नसुन्ने भएपछि म आक्रोशित भएको हु ।’
घटनाको बारेमा एनआरएनए अमेरिकाका महासचिवको विज्ञप्तिको पूर्ण पाठ ।
विज्ञप्ति
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्को न्यूयोर्कमा भएको कार्यक्रममा जुलाई महिनामा विपिन लम्सालको असामयिक निधन पश्चात् गोफण्ड मार्फत सहयोग उठाइ सहयोग गरेको विषयमा उठाउनु भएको कुराहरूका सम्बन्धमा अध्यक्ष बुद्धि सागर सुवेदीले सोही कार्यक्रममा प्रस्ट पारी सक्नु भएको छ ।
संस्थालाई जीवन्तता दिनको लागि सबै सदस्यहरूले संस्थाका गतिविधिहरूमा चासो राख्नु तथा सहभागिता जनाउनु जरुरी पर्दछ र सो को लागि सबैले मर्यादित र पद्दतिसंगत डङ्गमा आफ्ना चासो वा जिज्ञासा राखी संस्थाको मर्यादा कायम गर्नु हुन अनुरोध गर्दछौ । उत्तेजक र आपत्ति जनक क्रियाकलाप र हर्कतको हामी भर्त्सना गर्दछौ ।
जुलाई २७–२०२१ मा विपिन लम्सालको असामयिक निधन भएको थाहा पाउनासाथ न्यूयोर्कमा रहेका साथीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भनी सर सल्लाह गरियो । उहाँको बुवा पोषराज लम्सालसँग सम्पर्क गरी अमेरिकामा नै दाहसंस्कार गर्ने वा नेपाल लैजाने भन्दा नेपालमा नै पठाइदिन स्वर्गीय लम्सालका बुवाको आग्रह रह्यो । नेपालमा ७० वर्षको बुवा भएको हुँदा नेपाल शव पठाउन गोफण्डमा रकम उठाउने निर्णय गरियो ।
गोफण्डमा जम्मा १८३६८ रकम उठेकोमा गोफण्डको सर्भिस फि ६२१ डलर ,नेपाल शव पठाउन ६,५५२ र पर्वत सम्म जानको लागि २३० डलर खर्च भएको थियो । बाँकी रहेको रकममा शव नेपाल पठाइसके पश्चात् सँगै बस्ने एक महिलाले म मृतकको श्रीमती हो भनी प्रमाण सहित हक दाबी गरे पश्चात् रकम नेपाल पठाउने वा उनलाई दिने विषय केही समय अन्यौलमा पर्यो ।
निज महिलाले स्वर्गीय वीपिन लम्सालसँग विवाह गरेको कुरालाई नेपाली समाजका केही प्रतिष्ठित व्यक्तिहरूले समेत स्वीकार गर्नु भयो । लस एन्जलस स्थित पशुपतिनाथ मन्दिरमा विधि पूर्वक विवाह गरेको फोटो, भिडियो र डकुमेन्ट गैर आवासीय नेपाली सङ्घ अमेरिकामा महिलाले पठाइन ।
नातामा श्रीमती देखिए पश्चात् चार हजार डलर दिए हुन्छ भनी माग भए बमोजिम पदाधिकारीको बैठक बसेर निर्णय गरी अमेरिकामा श्रीमतीलाई चार हजार दिएर बाँकी रहेको रकम परिवारको अनुरोध बमोजिम नजिकको नातेदारलाई ६,९६५ डलर हस्तान्तरण गरिसकिएको छ ।
अमेरिकामा मृतकको श्रीमतीलाई दिएको चार हजार डलर समेत पदाधिकारीबाट उठाइ नेपालमा रहेका वृद्ध बुवा आमालाई दिने भनी उठाइरहेको र हालसम्म दुई हजार पाँच सय उठाइ पनि सकिएको छ ।
बाँकी उठाएको रकम चार हजार डलर पुराएर चाँडो भन्दा चाँडो नेपाल पठाउने योजना रहेको छ । संस्थाले उठाएका रकम र यसलाई सम्बन्धित व्यक्तिसम्म पारदर्शी डङ्गमा प्रदान गरिएको छ । यसको पूर्ण विवरण कोषाध्यक्ष राजीव श्रेष्ठले गत जनवरी २९ तारिकको हाइब्रिड बैठकमा प्रदान गर्नु भएको रिपोर्टमा समेत समावेश गरिसकिएको छ । जुन बैठकको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । संस्थामा हुने हरेक आर्थिक क्रियाकलापहरू पारदर्शी हुनुपर्दछ भन्नेमा हाम्रो कार्यसमिति प्रतिबद्ध छ र सबै गतिविधिहरूलाई सबै सदस्यमाझ प्रस्ट रूपमा राखी सकेका छौ र अन्य गतिविधिहरूलाई समेत यहाँहरू समक्ष पठाउने छौ ।
अन्जन कुमार चौलागाई
महासचिव, गैर आवासीय नेपाली सङ्घ अमेरिका मिति ०२–२० –२०२२