सत्तारुढ दलको विरोध, एमालेको नाराबाजीबीच संसदमा एमसीसी पेस
काठमाडौं । अन्तत प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पेस गरिएको छ । सत्तारुढ दलकै बिरोधका बीचमा पनि एमसीसी संसदमा छलफलका लागि पेश गरिएको हो ।
आइतबार बसेको प्रतिनिभिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् । सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो ।
मन्त्री कार्कीलेले एमसीसी पेस गरिरहँदा सांसदहरूले विरोध गरेका थिए । अब एमसीसी लिने नलिने भन्ने निर्णय संसदले गर्ने छ । संसदमा एमसीसी पेश हुदा बाहिर बानेश्वर क्षेत्रमा सडक प्रदर्शन भएका थिए ।
अब के हुन्छ ?
एमसीसीबारे अब फागुन १२ गते बस्ने बैठकमा छलफल हुने छ । प्रतिनिधिसभाको एक चौथाइ सांसद उपस्थित भएमा बैठक बस्नेछ । अहिले प्रतिनिधिसभामा २७१ सांसद कायम छन् । त्यसको एक चौथाइ भनेको ६८ जना हो ।
उपस्थित मध्ये बहुमतको आधारमा विधेयक पास हुने छ । ध्वनीमतले पारित हुने भएकाले ३५ जनाले हात उठाएमा पनि एमसीसी पारित हुने छ ।
छलफलमा भाग लिइसकेपछि सांसदहरूले संशोधन लागि समय पाउने छन् । विधेयक, सन्धि वा सम्झौतामा आरक्षणको व्यवस्था छ भने संशोधनका लागि १२० घण्टाको समय छुट्याइन्छ । एमसीसीमा भने आरक्षणको व्यवस्था छैन ।
छलफल पछि मन्त्रीले जवाफ दिनु पर्ने हुन्छ । मन्त्रीले जवाफ दिए पछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुपर्ने हुन्छ । बहुमत आए प्रतिनिधिसभाबाट ध्वनी मतका आधारमा पारित हुनेछ र राष्ट्रिय सभामा जानेछ ।
तर ध्वनि मतको निर्णयप्रति सांसदहरूले असन्तुष्टि जनाए भने हस्ताक्षर नै संकलन गरेर मतविभाजन गर्नुपर्ने हुन्छ ।