एनआरएनए विवाद : शेष घले समितिलाई ओभर ट्याक गर्ने कुमार पन्थको तयारी, होला त सम्भव

अमेरिका । थप गरिएको दश दिनको समयमा पनि कुनै निकास नदिएको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का अध्यक्ष कुमार पन्तले अब ‘घले समिति’ लाई नकुर्ने बताएका छन् ।
‘भोलि (मंगलवार) मध्यान्न सम्ममा आधिकारिक रुपमा ठोस निर्णय आउछ ।’ समाज टाइम्सको सम्पर्कमा आएका आइसीसीका एक पदाधिकारीले भने । ‘शेष घलेले एनआरएनएमा निर्वाचन भन्दा पनि विघटनको लागि वातावरण बनाउन लागेको पाइए पछि अध्यक्षले रिक्स लिन खोज्नु भएको हो ।’ ति पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने । ‘अब केही घण्टा कुर्नुस सबै कुरा आधिकारिक च्यानलबाटै आउछ ।’
‘सबैलाई समेटेर चुनाव हुन्छ भन्ने थियो, एनआरएनएलाई विवादरहित बनाउन भनेर नै भए सम्मको सबै प्रयास गरिएको हो, तर त्यस्तो हुन सकेन, समय लम्भाउदै लैजाने र अन्त्यमा एनआरएनएको वर्तवान निर्वाचन कमिटी नै विघटन गरि नयाँ तदर्थ समिति गठन गर्ने खेल भएको रहेछ त्यसलाई रोक्न चुनावमा जानुको विकल्प छैन भन्नेमा अध्यक्ष लगायत हामी पुगेका छौं ।’ उनले थप प्रष्टाए ।
मुख्यतय आइसीसी निर्वाचनका लागि प्रतिनिधि छनौटमा अनियमिता भएको भन्दै विवाद शुरु भएको हो । आफुकहाँ उजुरी आए पछि निर्वाचनका लागि तत्काल कुनै काम नगर्न भन्दै परराष्ट्र मन्त्रालयले एनआरएनएलाई निर्देशन दिएको थियो ।
एनआरएनए नेपालमा परराष्ट्रमा दर्ता भएको संस्था हो । तर परराष्ट्रले अनावश्यक हस्तक्षेप गरेको भन्दै कुमार पन्त पाटन उच्च अदालतमा पुगेका थिए । अदालतले पन्तकै माग अनुसारको फैसला गरेको थियो । तर त्यस पछि पनि चुनाव हुन सकेन । मुख्यतय अध्यक्षका प्रत्यासी कुल आचार्यको टिमले यथास्थितिमा हुने निर्वाचनमा भाग नलिने र जवर्जस्ती गरिएमा एनआरएनए दुर्धटनामा पर्ने चेतावनी दिएका थिए ।
त्यस पछि एनआरएनए आइसीसीले प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्च स्तरिय समिति गठन गरेको थियो । संस्थापक अध्यक्ष उपेन्द्र महतो सहित सबै पूर्व अध्यक्ष सदस्य सहेको समितिमा कुमार पन्त आफै पनि सदस्य हुन् । घले समितिलाई विवादको गाँठो फुकाउने जिम्मा दिइएको थियो ।
घले नेतृत्वको समितिले नै अन्तिम निश्कर्ष दिने र त्यो सबैलाई मान्य हुने दुबै पक्षले बताउदै आएका पनि थिए ।
घले नेतृत्वको उच्च स्तरिय समितिले फेब्रुअरी चार तारिकमा प्रतिवेदन बुझाउने गरि म्याद थप पाएको थियो । यो बीचमा समिति अन्तर्गतको कार्यदलले विधान अनुसार नै समस्याको हल खोज्न प्रतिवेदन बुझाएको थियो ।
संस्थापन र संस्थापन इतर पक्षले आफुखुसी विधानको व्याख्या गर्दै आएका छन् । मुख्य रुपमा प्रतिनिधि छनौट ६५ प्रतिशत वर्तमान र निवर्तमान समिति मध्ये कुन राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ले गर्ने भन्ने विवाद छ । यस्तै २५ प्रतिशत प्रतिनिधि छनौटमा पनि प्रश्न उठेको छ ।
जापानको निर्वाचनमा प्रविधिको चरम दुरुपयोग भएको भन्दै उजुरी परे पछि अहिले नेपाल प्रहरीको साइवर ब्यूरोले छानविन गरिरहेको छ । यस्तै एनआरएनएको विधानमा विद्यार्थीलाई सदस्य बनाउन नपाउने भनेको छ । तर विद्यार्थी सदस्य नभएको मुलुक नै छैन ।
शेष घलेको समितिले प्रतिनिधि विवाद मिलाउने र सोही अनुसार फेब्रअरी २८ मा निर्वाचन गराउने तयारीमा रहेका कुमार पन्त अब घलेलाई कुर्न नसक्ने निर्णयमा पुगेको बताइन्छ ।
स्रोतका अनुसार कुमार पन्तले निर्वाचन समितिलाई प्रतिनिधि नामावलि बुझाइ सकेका छन् । निर्वाचनको नयाँ मिति र प्रतिनिधि नामावलि मंगलवार सार्वजनिक गर्ने निर्णय भएको छ । ‘फेब्रुअरी २८ मा अब चुनाव संभव छैन तर मार्चका लागि नयाँ मिति तोकिन्छ, अब कुल आचार्यको टिम नआए पनि चुनाव हुन्छ ।’ ति पदाधिकारीले भने ।
‘सरकारले असहयोग गर्यो भने पनि कसरी अगाडि बढ्ने भनेर छलफल भएको छ । जति लचिलो हुदा पनि अर्को पक्ष निर्वाचनमा नआउने भए पछि अब किन कुर्ने भन्ने भएको हो अब घले समितिलाई कुरिदैन ओभरट्याक हुन्छ ।’
कुल आचार्य टिमले भाग नलिने
यता संस्थापन इतर पक्षका अध्यक्षका प्रत्यासी कुल आचार्यले शेष घले नेतृत्वको समिति भन्दा बाहिरी प्रक्रियाबाट हुने निर्वाचनमा भाग नलिने अडान दोहोर्याएका छन् । उनले कुमार पन्तले निर्वाचन समितिलाई दिइएको भनिएको प्रतिनिधि नामावलिका आधारमा हुने निर्वाचनमा आफुहरुले भाग नलिने बताए ।
अहिले सम्म एनआरएनएको निर्वाचनका लागि तीन जना मैदानमा छन् । आइसीसीका वर्तमान उपाध्यक्षहरु डाक्टर बद्री केसी र रविना थापा तथा एनआरएनएका सल्लाहाकार कुल आचार्यले अध्यक्ष पदका लागि उमेदवारी घोषणा गरेका छन् ।
केसीलाई कुमार पन्त सहित एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेको समर्थन रहेको बताइएको छ । पन्तलाई नेकपा एमाले निकट मानिन्छ । उनी एमाले अध्यक्ष ओली निकट छन् । थापा र आचार्य नेपाली कांग्रेस निकट हुन । आचार्य पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा निकट हुन् । आचार्यलाई प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको समर्थन रहेको बताइएको छ ।
थापालाई भने कुल आचार्यको भोट काट्न काग्रेस निकट कै एक समुहले उचालेको आरोप लाग्दै आएको छ । कांग्रेस निकटकै एक समुहले बद्री केसीलाई समर्थन गर्दै आएको छ । मुख्यतय वर्तमान महासचिव एवं डाक्टर हेमराज शर्मा, केसी समुहबाट उपाध्यक्षका उमेदवार हुन् । महासचिवमा अमेरिकाबाट दुई जना उमेदवार छन् । आचार्य समुहमा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशव पौडेल र केसी समुहमा गौरी जोशि महासचिवका लागि आमन्ने सामन्ने हुदै छन् । जोशि वर्तमान समितिका सचिव हुन ।
एनआरएनएको विवाद सतहमा प्रतिनिध छनौट देखिए पनि खासमा दुई व्यापारी घरना जीवा लामिछाने र शेष घलेबीचको व्यक्तिगत इगो भएको बताइने गरिएको छ ।