चोलेन्द्रविरुद्धको महाअभियोग लोकतन्त्रमाथिको हमला : एमाले
काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव लोकतन्त्रमाथि हमला भएको बताएको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूको धारणा सुनेपछि दलका नेता तथा अध्यक्ष केपी ओलीले जबराविरुद्धको महाअभियोग प्रस्ताव लोकतन्त्रमाथिको निरन्तर हमलाको रुपमा लिनुपर्ने बताएका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।
जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा औपचारिक धारणा बनाउन सोमबार बसेको दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनबाट भइरहेको लोकतन्त्रमाथिको हमलाको निरन्तरता रहेको बताएका हुन् ।
‘आजको बैठकमा सांसदले धारणा राखेपछि अध्यक्ष ओलीले जबरामाथिको महाअभियोग लोकतन्त्रमाथिको हमलाको निरन्तरताको रुपमा रहेको बताउनु भयो,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
जबराविरुद्धको महाअभियोगको प्रस्ताव अदालतलाई अस्थिर बनाउन, निर्वाचन सार्न र एमसीसी पारित गर्ने तीन कारणले आएको भन्दै ओलीले यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
‘महाअभियोगको प्रस्ताव जुन बेला आएको छ । त्यसलाई हेर्दा तीन कारण देखिन्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘अदालतलाई अस्थिर बनाउने रहने, निर्वाचन सार्ने र एमसीसी पारित गर्ने तीन कारण देखिएका छन् । यसको एमालेले प्रतिवाद गर्नुपर्छ ।’
यद्यपि, प्रधानन्यायाधीश जबरालाई जोगाउनुपर्छ भन्ने एमालेको धारणा नभएको प्रमुख सचेतक भट्टराईको भनाइ छ ।
बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकुल बाँस्कोटा, झपट रावल, विमला विश्वकर्मासहितका सांसदले धारणा राखेको र उनीहरू महाअभियोग प्रस्ताव र एमसीसीबारे पार्टी स्पष्ट धारणा आउनुपर्ने बताएका भट्टराईले जानकारी दिए ।
ओलीले भने- हामी आवेश र उत्तेजनामा निर्णय गर्दैनौँ
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले चार न्यायाधीशकाबारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् ।
सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशकाबारेमा आवेग र उत्तेजनामा निर्णय नलिने बताएका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काउन्टरमा एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भनिएका बेला ओलीले सो बताएका हुन् ।
बैठकमा विभिन्न सांसदले जबरा र एमसीसीकाबारेमा धारणा राखेका थिए । सोही क्रममा सांसद घनश्याम भुसालले एमालेले जबरालाई बोकेर हिँड्न नहुने सुझाव दिएका छन् । सांसद भीम रावलले एमसीसीको विरोध गर्न माग गरेका छन् ।