टी-२० क्रिकेट : नेपाल आयरल्याण्ड सँग चुक्यो, १६ रनले पराजित
काठमाडौं । चारदेशीय टी-२० क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल आयरल्यान्ड सँग पराजित भएको छ । नेपालले जितका लागि एक सय २८ रनको लक्ष्य भेटाउन सकेन । नेपाल १६ रनले पराजित भयो ।
ओमानमा समोमवार भएको खेलमा एक सय २८ रनको लक्ष्य पछ्याएको नेपाल पुरा २० ओभर खेल्दा नौ विकेट गुमाएर एक सय ११ रनमा समेटियो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले २८, आसिफ शेखले २३, कमलसिंह ऐरीले १३ र कुशल भुर्तेलले १५ रन बनाए । लोकेश बमले ६, ज्ञानेन्द्र मल्लले ५, कुशल मल्लले ९ र शरद भेषावकर १ रन भन्दा बढीको योगदान दिन सकेनन ।
२६ रन हुदा देखि नेपालको विकेट पतन शुरु भएको थियो । नेपालले ६६ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो ।
त्यसअघि टस जितेर आयरल्यान्डलाई ब्याटिङ गर्ने जिम्मा दिएको नेपालका लागि ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गरे ।
आयरल्यान्डले निर्धारित २० ओभरमा पुरा विकेट गुमाउँदै १२७ रनमा समेटियो ।
आयरल्यान्डका जर्ज डक्रेलले सर्वाधिक २८ रन बनाए । यस्तै कर्टिस काम्फरले २०, एन्डी विलवार्नीयले १९ रनको योगदान गरे ।
नेपालका पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरी चम्किएपछि आयरल्यान्डका कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन् । दीपेन्द्रले ४ ओभर बलिङ गर्दै २१ रच खर्चिएर सर्वाधिक ४ विकेट लिए ।
यस्तै अविनाश बोहराले दुई विकेट लिँदा कमल सिंह ऐरी, जितचन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए ।
यससँगै सन्दीपले आफ्नो ५०औं विकेट पुरा गरेका छन् । उनी टी–२० क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बने ।
पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा शनिबार यूएईसँग २५ रनले पराजित भएको थियो। नेपालले अब फेब्रुअरी १८ तारिखमा टी-२० विश्वकपको विश्वस्तरको छनोट खेल्ने छ।