नेपालीमुलका अमेरिकी सांसद डा. ह्यारी भण्डारीद्वारा दोस्रो कार्यकालका लागि औपचारिक रुपमा उमेदवारी दर्ता
अमेरिका । नेपालीमुलका अमेरिकी सांसद डाक्टर ह्यारी भण्डारीले बिहिवार औपचारिक रुपमा दोस्रो कार्यकालका लागि उमेदवारी दर्ता गराएका छन् ।
सन् २०१९ मा सम्पन्न निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ बाट विजयी भएका थिए । भण्डारीले सोही क्षेत्रबाट पुन निर्वाचित हुन उमेदवारी दर्ता गराएका हुन् । भण्डारी अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली हुन् ।
पर्वतमा जन्मिएका भण्डारी सन् २००५ देखि अमेरिकामा बस्दै आएका छन् । भण्डारी अमेरिकी डेमोक्रेटिभ पार्टी मेरिल्याण्डको केन्द्रीय सदस्य पनि हुन् ।
भण्डारीले संसदीय प्रतस्पर्धामा उत्रनु अगाडि पार्टी भित्रको चुनाव जित्नु पर्ने हुन्छ । जसलाई प्राइमेरी चुनाव भनिन्छ । जुन २८ मा हुने प्राइमेरी चुनाव जितेमा भण्डारीले नोभेम्वर ८ तारिकमा हुने मेरिल्याण्ड विधायक निर्वाचनमा डेमोक्रेटिभ पार्टीको उमेदवार हुन पाउने छन् ।
भण्डारीले प्रतिस्पर्धाले नै नेपाली समुदायलाई नीति निर्माण तहमा पुर्याउने भएकाले आफुले पुन उमेदवारी दिएको बताएका छन् ।
‘चुनाव राजनीतिको एक अभिन्न अंग हो । हाम्रो समुदाय यसमा सहभागी हुनुपर्छ । हाम्रो सहभागिताले नै हाम्रो समुदायलाई हरेक क्षेत्रमा प्रतिस्पर्धी बनाउँछ । र, यही प्रतिस्पर्पधाको दौड पार गरेपछि मात्र हामी नीति निर्माणको तहमा पुग्छौं । अनि मात्र हाम्रो समुदायका समस्याहरू नीतिगत र संरचनागत रूपमा संवोधन हुने दिशामा अघि बढ्छन्।’
भण्डारीले पुन एक पटक आफुलाई सहयोग गर्न पनि समुदाय सँग अपिल गरेका छन् । ‘यो अभियान हामी र हाम्रो सन्तान दरसन्तानलाई एकीकृत गर्दै जन्मभूमीसँग जोड्ने साझा अभियान हो । यही पवित्र सोच र कोणबाट मैले आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको हुँ।’
भण्डारीको विज्ञप्तिको पूर्ण पाठ
प्रेस विज्ञप्ती
फेब्रुअरी १०, २०२२
आज मैले मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को डेलिगेट पदका लागि दोस्रो कार्यकालका लागि औपचारिक रूपमा उम्मेद्वारी दर्ता गरें। पश्चिम नेपालको पर्वत थापाथानामा जन्मेर सुरूवाती शिक्षा त्यही पूरा गरेको म आज यो विन्दुमा आइपुग्दा मेरो आँखा अगाडि त्यो लामो यात्राका अनेकौ आरोह-अवरोहरू सिनेमाको रिलझै घुमिरहे।
अमेरिका आएपछि मेरो मनमा एउटै कुरा खेलिरहेको हुन्थ्यो कि हामीले हाम्रो समुदायलाई अमेरिकाको मूलधारसँग जोड्नुपर्छ र हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ। त्यसो गर्न सकियो भने मात्र हामी भिजिबल हुन्छौ र हाम्रा समस्याहरू समाधानको दिशामा अगाडि बढ्छन्। अमेरिका हामी र हाम्रा सन्ततिका लागि प्रचुर अवसर रहेको देशका रूपमा उपस्थित हुन्छ।
आज फर्केर हेदा हाम्रो साझा सपना केही मात्रामा भए पनि साकार हुने दिशामा अगाडि बढिरहेको छ। छोटो समयमा जुनसुकै क्षेत्रमा रहेर पनि हाम्रो समुदायले जुन उपलव्धी हासिल गरेको छ, त्यो आफैंमा एक मानकको रूपमा उभिएको छ।
प्रस्तुत पृष्ठभूमिमा विधायकका लागि उम्मेद्वारी दिइरहेको बेला अमेरिकाकै सबैभन्दा पुरानो स्टेट क्यापिटल हलमा जारी ४४४औं संससदीय सत्रमा म मेरो पहिलो कार्यकालको अन्तिम सत्रमा विधायिकी कार्यहरू सम्पन्न गरिरहेको छु। जहाँबाट जेफरसन र वासिङट्टनले आजको विशाल अमेरिका बनाउन देखेका सपनाहरूमा हामी र हाम्रा सन्ततिका सपनाहरू तरङ्गित भैरहेको अनुभव हुन्छ। त्यसबाट हासिल भएका अनुभव र आत्मबल हाम्रा समुदायका सार्वजनिक पूँजी हुन्। अहिले अमेरिकाभरि नै हाम्रो समुदायका होनहारहरू केही सार्वजिक पदमा रहेर र केही त्यसका लागि प्रयासरत रहेर नेपाली समुदायको सामाजिक आर्थिक स्थिति मजबुत बनाइरहनु भएको छ। म उहाँहरू सबैको सफलता र प्रयासको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु। र, सहकार्यका लागि सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गर्दछु।
राजनीति एउटा युगिन रिले यात्रा हो। यो १००मिटरको दौड वा केही माइलको म्याराथुन जस्तो आवधिक दौड हैन । चुनाव राजनीतिको एक अभिन्न अंग हो। हाम्रो समुदाय यसमा सहभागी हुनुपर्छ। हाम्रो सहभागिताले नै हाम्रो समुदायलाई हरेक क्षेत्रमा प्रतिस्पर्धी बनाउँछ। र, यही प्रतिस्पर्पधाको दौड पार गरेपछि मात्र हामी नीति निर्माणको तहमा पुग्छौं। अनि मात्र हाम्रो समुदायका समस्याहरू नीतिगत र संरचनागत रूपमा संवोधन हुने दिशामा अघि बढ्छन्।
यही आशा र विश्वास नै मलाई पुन: उम्मेद्वार बनाउने मूल आधार हो। मेरो उम्मेद्वारी अहिलेका लागि डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेद्वारी जित्ने आकांक्षाको लागि हो। जुन २8 मा हुने डेमोक्रेटिक प्राइमरीमा विजयी भएपछि मात्र नोभेम्बर ८ मा हुने चुनावका लागि डेमोक्रेटिक उम्मेद्वार हुने मेरो ढोका खुल्नेछ।
मलाई आशा एवं विश्वास छ, यसअघिझै यसपटक पनि यहाँहरूको आशीर्वाद, माया, साथ, सहयोग र सद्भाव प्राप्त हुने नै छ। म त्यसैको भुईंमा उभिएर चुनौतिको यो पहाडलाई अवसरको मैदानमा बदल्ने अभियानमा डट्नेछु । यो अभियान हामी र हाम्रो सन्तान दरसन्तानलाई एकीकृत गर्दै जन्मभूमीसँग जोड्ने साझा अभियान हो। यही पवित्र सोच र कोणबाट मैले आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको हुँ।
आशीर्वाद, साथ, सहयोग र सद्भावको हार्दिक अपेक्षासहित,
ह्यारी भण्डारी, पीएचडी