विष्णु पौडेलका छोरा माथि कारबाही चलाउन एस निकट युवा सङ्घको माग
काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) निकटस्थ युवा सङ्घ नेपालले ललिता निवासको सरकारी जग्गा हडप्न खोज्ने भन्दै कुमार रेग्मी र नवीन पौडेललाई कानुनी कारबाही गर्न माग गरेको छ।
रेग्मी सर्वोच्च अदालतका न्यायाधीश र पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका छोरा हुन् । युवा सङ्घ नेपालले मङ्गलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा निवेदन दिँदै रेग्मी र पौडेललाई कारबाही गर्न माग गरेको हो।
ललिता निवासको जग्गा रेग्मी र पौडेलले फिर्ता गरेपछि आयोगले उनीहरूमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो । विज्ञप्तिमा उल्लेख छ‚ ‘ललिता निवासको सरकारी जग्गा हिनामिना गर्ने कुमार रेग्मी र नवीन पौडेललाई जग्गा फिर्ताको बहाना बनाएर उन्मुक्ति दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय निष्पक्ष र न्यायिक नभएको देखिन्छ।’
यस्तो निर्णयले भ्रष्टहरूलाई प्रोत्साहित गर्ने सङ्घको दाबी छ। त्यस्ता व्यक्तिसँग नैतिकता नहुने बताउँदै आयोगको निर्णयले कानुनको दुरुपयोग भएको सङ्घका अध्यक्ष नरेश शाहीले बताए ।