मध्यरातमा अमेरिकी सडकमा गम्भिर दुर्घटना : एक साता भित्र अर्को एक नेपालीको निधन
अमेरिका । बाल्टिमोरमा भएको डरलाग्दो सडक दुर्घटनामा एक नेपाली युवाको निधन भएको छ । ढिलो गरि सार्वजनिक विवरण अनुसार गत शुक्रवार मध्यरातमा बाल्टिमोरको किंग्सभिल, एमडी – बेलयर रोडमा फरक दिशाबाट आएका दुई सवारी साधन आपसमा ठोकिन पुगेका थिए ।
किंग्सभिल स्वयंसेवी फायर कम्पनीको रिपोर्ट अनुसार विपरित दिशाबाट आएको कार तिब्र गतिमा थियो । एक सय माइल भन्दा बढी गतिमा रहेको गाडिले लेन क्रस गरेर अर्को गाडिलाई ठक्कर दिएको हुन सक्ने रिपोर्टमा भनिएको छ । अर्को गाडिका चालक नेपाली थिए । उनी उबर चलाउथे । घटना हुँदा उनको गाडिमा तीन जना यात्रु समेत थिए ।
उबर चालकको घटना स्थलमा नै निधन भएको प्रहरीको रिपोर्टमा उल्लेख छ । सोही घटनामा घाइते अर्को एक व्यक्तिको पनि निधन भइसकेको स्थानीय सन्चार माध्यमले जनाएका छन् । तर उनी को हुन र कुन गाडिमा सवार यात्रु हुन भन्ने उल्लेख छैन । तिब्र गतिमा आएर ठक्कर दिने गाडिमा रहेका र उबर गाडिमा रहेका अन्य यात्रुको अहिले उपाचार भइरहेको छ । उनीहरुको अवस्था पनि गम्भिर रहेको जनाइएको छ ।
स्थानीय सञ्चार माध्यमले मदिरा र तिब्र गतिका कारण सो दुर्घटनाको भएको हुन सक्ने आशंका गर्दै समाचार सम्प्रेसण गरेका छन् । त्यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिका म्यारिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरीका अनुसार सो घटनामा निधन हुने उबर चालक म्याग्दीका सुनिल बराइली हुन् । म्याग्दी ज्याम्रुक कोटका ३१ बर्षिय बराइली श्रीमती, एक छोरा र छोरीका साथ म्यारिल्याण्डमा बस्दै आएका थिए ।
सेन्चुरीका अनुसार पोष्टमार्टम पछि प्रहरीले शव परिवारलाई बुझाएको छ । ‘शव अहिले फिनरल होममा छ,अब नेपालबाट आमाबा झिकाएर परम्परा अनुसार संस्कार गर्ने भन्ने भएको छ,त्यसका लागि सबै प्रक्रिया ह्यारी भण्डारीले गरिरहनु भएको छ ।’ सेन्चुरीले भने । भण्डारी मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट हुन् ।
भण्डारीले बराइलीको संस्कारका साथ साथै उनको न्यायका लागि पनि आफुले पहल गरिरहेको बताए । ‘मैले घटनाको बारेमा नोट गरेको छु,प्रहरीलाई पनि मेरो अफिसले कुरा गरेको छ, प्रहरीको रिपोर्ट कस्तो आउछ त्यस पछि प्रक्रिया अगाडि बढ्छ ।’ भण्डारीले बराइली र उनको परिवारको न्यायका लागि पनि आफ्नो अफिस लागेको बताए । ‘पहिला प्रहरीले दुर्घटनाको प्रतिवेदन कस्तो बुझाउछ, त्यस पछि के कस्तो बेनिफिट उनको परिवारले पाउने भन्ने हुन्छ, हामी न्याका लागि लड्छौं ।’
अमेरिकामा सडक दुर्धटनामा परि एक सातामा दोस्रो नेपालीको निधन भएको हो । यस अघि गत आइतवार न्यूयोर्कमा बस्ने आङकामी शेर्पाको न्युजर्सीमा निधन भएको थियो ।
नेपालमा सोलुखुम्बु स्थायी घर भएका आङकामीलाई सडकमा पैदल हिडिरहेको समयमा गाडिले ठक्कर दिएको हो । आफुले गल्ति नगर्दा पनि एक सातामा दुई नेपालीले अनाहक ज्यान गुमाए ।