सिटौला हालीमुहाली हुँदा देउवाका चर्चित सारथीहरू एक पछि अर्को बलि चढ्दै
समाचार टिप्पणी
देउवा अहिलेसम्म कांग्रेसमा बलियो हुनुमा कार्की, खाँण, खड्का, साउद, लेखक, विश्वकर्मा, भण्डारी, बस्नेतको धेरै हात छ । बस्नेत विरामी भएकाले चुनावमा त्यति सक्रिय हुन सकेका छैनन् । तर, खड्काले त केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दर्ता गराएनन् । देउवा समुहकै प्रभावशाली नेता साउदले ‘चाहेको कुरा सबै पुरा नहुने’ प्रतिक्रया दिए । खाँड आफु अधयक्ष हुदा भर्खर नेपाल विद्यार्थी संघको सदस्यता लिएकाहरु अहिले पदाधिकारीमा प्रतिस्पर्धा गर्दा टुलुटुलु हेरेर बस्न बाध्य भएका छन् ।
आखिर किन देउवाले आफ्ना चर्चित सारथीहरूलाई पदाधिकारीमा लगेनन् त ? देउवा निकट एक नेताका अनुसार अहिले संस्थापनमा कृष्णप्रसाद सिटौलाको हालीमुहाली बढेको छ । यसले गर्दा पनि कोही खुलेर महाधिवेशनमा प्रचार प्रसारमा लागेका छैनन् ।
सिटौला प्रभावशाली हुँदै जाँदा कोइराला समूहबाट शैलजा आचार्य, चक्र बाँस्तोला, भीमबहादुर तामाङ, गोविन्दराज जोशीहरू विस्थापित भए । अब सायद रमेश लेखक, एनपी साउदहरू देउवा शिविरबाट बाहिरिन सक्ने अनुमान गर्न थालिएको छ । आफ्ना बलिया सारथीलाई केन्द्रीय सदस्यको उम्मेदवारमै खुम्चिन बाध्य पारेको असर निर्वाचनमा देखिन सक्ने ती नेताको भनाइ छ ।
त्यसो त देउवा टिममा लाग्नेहरुले एक पछि अर्को गर्दै धोका पाउन थालेको बताउन थालेका छन् । विद्यार्थी काल देखि नै देउवालाई साथ दिदै आएका विमलेन्द्र निधि अहिले देउवा क्याम्पबाट अलगिएका छन् । यस्तै पछिल्लो पाँच बर्ष हर क्षेत्रमा देउवाको रक्षाकवच बनेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा पनि अन्तिम अवस्थामा प्रकाशमान सिंहको टिममा पुगे ।
देउवाले आफ्ना लागि सारथीहरुको बलि चडाउने गरेको आरोप अहिले महाधिवेशन स्थलमा लाग्ने गरेको छ । सिटौलाको सहयोग लिन देउवाले विश्वप्रकासलाईको स्थानमा प्रदिप पौडेललाई च्यापे पछि यस्तो आरोप लाग्ने गरेको हो । देउवाले आफ्नो लागि जे पनि गर्ने तर लामो समय टिममा लागेकालाई माथि आउनै नदिने गरेको गुनासो पनि आउने गरेका छन् ।