अमेरिकामा आप्रवासी डिपोर्टको नयाँ रेकर्ड : सन् २०२६ मा ४ लाख ८३ हजार निकालिए
वासिङ्टन डीसी / अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले आर्थिक वर्ष २०२६ मा आप्रवासी पक्राउ र देशनिकालाको संख्यामा अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको दाबी गरेको छ।
आइसले बिहिवार सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०२६ मा ४ लाख ९१ हजारभन्दा बढी आप्रवासी पक्राउ परेका छन् भने ४ लाख ८३ हजारभन्दा बढीलाई अमेरिकाबाट देशनिकाला गरिएको छ।
आइसका अनुसार इतिहासमा एक आर्थिक वर्षमा भएको सबैभन्दा ठूलो देशनिकाला संख्या हो।
आइसका अनुसार यी संख्या राष्ट्रपति जो बाइडेनको पहिलो आर्थिक वर्षको तुलनामा निकै बढी हुन्। त्यस अवधिको तुलनामा देशनिकालाको संख्या आठ गुणाभन्दा बढी र पक्राउ पर्नेको संख्या छ गुणाभन्दा बढी रहेको दाबी गरिएको छ।
त्यस्तै, राष्ट्रपति बाराक ओबामाको अन्तिम पूर्ण आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०२६ मा देशनिकालाको संख्या दोब्बरभन्दा बढी रहेको आइसले जनाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा आइसलाई गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई देशनिकाला गर्ने अभियान अघि बढाउन थप सक्रिय बनाइएको विज्ञप्तिमा उल्लेख छ।
आइसले आफ्ना कर्मचारीको कामलाई ऐतिहासिक उपलब्धि भन्दै अमेरिकालाई थप सुरक्षित बनाउने अभियान नरोकिने जनाएको छ।
आर्थिक वर्ष २०२६ को तथ्यांकले यसअघिको रेकर्डसमेत तोडेको छ। आर्थिक वर्ष २०२५ मा ४ लाख ४२ हजार ६४० जनालाई देशनिकाला गरिएको थियो। त्यसको तुलनामा २०२६ मा देशनिकालाको संख्या करिब ९ प्रतिशतले बढेको हो।
राष्ट्रपति जो बाइडेनको अन्तिम पूर्ण आर्थिक वर्ष २०२४ मा २ लाख ७१ हजार ४८० जनालाई देशनिकाला गरिएको थियो। त्यसको तुलनामा २०२६ को संख्या करिब ७८ प्रतिशत बढी हो।
१६ वर्षको तथ्यांकमा देशनिकालाको अवस्था
आइसको तथ्यांकमा आधारित सार्वजनिक गरिएको ग्राफले सन् २०१० देखि २०२६ सम्मका १७ आर्थिक वर्षको देशनिकाला संख्या देखाउँछ। यसले अमेरिकामा विभिन्न राष्ट्रपतिको कार्यकालमा आप्रवासी देशनिकालाको प्रवृत्ति कसरी परिवर्तन भयो भन्ने देखाउँछ।
ग्राफअनुसार सन् २०१० मा ३ लाख ९२ हजार ८६० र २०१२ मा ४ लाख ९ हजार ८४० जनालाई देशनिकाला गरिएको थियो। सन् २०१३ मा ३ लाख ६८ हजार ६४० र २०१४ मा ३ लाख १५ हजार ९४० थियो।
सन् २०१५ देखि देशनिकालाको संख्या घट्दै गएको देखिन्छ। सन् २०१५ मा २ लाख ३५ हजार ४१०, २०१६ मा २ लाख ४० हजार २६० र २०१७ मा २ लाख २६ हजार १२० थियो। त्यसपछि २०१८ मा २ लाख ५६ हजार ९० र २०१९ मा २ लाख ६७ हजार २६० पुगेको थियो।
कोभिड महामारीको समय र त्यसपछिका वर्षमा देशनिकालाको संख्या उल्लेख्य रूपमा घटेको ग्राफले देखाउँछ। सन् २०२० मा १ लाख ८५ हजार ८८०, २०२१ मा ५९ हजार १० र २०२२ मा ७२ हजार १८० जनालाई देशनिकाला गरिएको थियो।
सन् २०२३ मा यो संख्या १ लाख ४२ हजार ५८० पुगेको थियो भने २०२४ मा २ लाख ७१ हजार ४८० पुगेको थियो। ट्रम्प प्रशासनको कार्यकालमा सन् २०२५ मा ४ लाख ४२ हजार ६४० र २०२६ मा ४ लाख ८३ हजार २०० पुगेको छ।
ग्राफको अर्को महत्त्वपूर्ण पक्ष बाइडेन प्रशासनका तीन आर्थिक वर्षसँगको तुलना हो। आर्थिक वर्ष २०२२, २०२३ र २०२४ मा भएका देशनिकालाको कुल संख्या ४ लाख ८६ हजार २४० हुन्छ। ट्रम्प प्रशासनको आर्थिक वर्ष २०२६ को ४ लाख ८३ हजार २०० देशनिकाला त्यसको लगभग बराबर हो।
यसको अर्थ ट्रम्प प्रशासनको एक आर्थिक वर्षमा भएको देशनिकाला संख्या बाइडेन प्रशासनका यी तीन आर्थिक वर्षको संयुक्त संख्याको हाराहारीमा पुगेको छ।


















