डीसीमा गोली चल्यो दुई जनाको निधन,चार घाइते,संदिग्धले आफैँलाई गोली हाने
वासिङ्टन डीसी/ अमेरिकी राजधानी वासिङ्टन डीसीको ह्वाइट हाउसबाट करिब एक माइल उत्तरमा रहेको लोगन सर्कल क्षेत्रमा बिहीबार बिहान भएको गोलीकाण्डमा संदिग्ध सहित दुई जनाको निधन भएको छ ।
प्रहरीले चार जना घाइते भएको जनाएको छ । गोली चलाएको आशंका गरिएका व्यक्तिले प्रहरीको घेराबन्दीमा परेपछि आफैँलाई गोली हानेर आत्महत्या गरेको पनि प्रहरीको भनाइ छ ।
मेट्रोपोलिटन प्रहरी विभागका अन्तरिम प्रमुख जेफ्री क्यारोलका अनुसार सुरुमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको थियो। त्यसपछि संदिग्ध व्यक्ति नजिकैको एक अपार्टमेन्ट भवनभित्र प्रवेश गरी सातौँ तलामा आफूलाई बन्द गरेर बसेका थिए।
प्रहरीका अनुसार ती व्यक्तिले अपार्टमेन्ट भवनको होमओनर्स एसोसिएसनसँग विवाद गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रहरी घेराबन्दीका क्रममा उनले आफैँलाई गोली हानेका थिए।
प्रहरी अनुसन्धानअनुसार संदिग्धले सुरुमा लोगन सर्कलस्थित एक जिमभित्र गोली चलाएका थिए। त्यसपछि बाहिर निस्केर पुनः गोली चलाएको र पार्किङ ग्यारेजको लिफ्टमा समेत एक व्यक्तिलाई गोली हानेको आशंका गरिएको छ।
घटनाका बेला जिममा रहेका प्रत्यक्षदर्शीहरुका अनुसार बिहान करिब ८ बजे जिममा झन्डै ५० जना थिए। गोली चलेको केही सेकेन्डमै एक व्यक्ति भुइँमा ढलेका थिए।
घटनापछि प्रहरीले १५औँ स्ट्रिट आसपासको क्षेत्र बन्द गरेको थियो। सर्वसाधारणलाई उक्त क्षेत्रमा नजान आग्रह गरिएको थियो भने आसपासका विद्यालयहरूलाई समेत सुरक्षा सतर्कताका लागि लकडाउन गरिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















