अमेरिकामा ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्ट दोषी ठहर
भर्जिनिया / अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या गरेको अभियोग लागेका उनका पति नरेश भट्टलाई अदालतले प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ।
भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित अदालतमा चलेको मुद्दामा मंगलबार जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको तीनवटै अभियोगमा दोषी ठहर गरेको हो।
जुरीले कैयौँ घण्टासम्म विचारविमर्श गरेपछि फैसला सुनाएको हो। सन् २०२४ जुलाईमा ममता बेपत्ता भएको घटनासम्बन्धी मुद्दामा करिब सात सातासम्म सुनुवाइ चलेको थियो।
ममताको शव अहिलेसम्म फेला परेको छैन। तर अभियोजन पक्षले घरभित्र भेटिएका रगतका प्रमाण, डिजिटल खोज इतिहास, निगरानी क्यामेराका दृश्य र अन्य परिस्थितिजन्य प्रमाणका आधारमा नरेशले योजनाबद्ध रूपमा पत्नीको हत्या गरेको दाबी गर्दै आएको थियो।
मुद्दाको सुनुवाइका क्रममा नरेश आफैँले अदालतमा बयान दिँदै ममताको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका थिए। उनले सन् २०२४ जुलाई ३० मा घरको शयनकक्षमा ममता मृत अवस्थामा भेटिएको र आफूले सुरुमा सीपीआर दिएर बचाउने प्रयास गरेको बताएका थिए। त्यसपछि शवलाई आराले काटेर विभिन्न स्थानका फोहोर फाल्ने कन्टेनरमा फालेको उनले स्वीकार गरेका थिए।
तर ममताको मृत्यु आफूले गराएको नभई उनले आत्महत्या गरेको नरेशको दाबी थियो।
अभियोजन पक्षले भने ममताको हत्या गरेपछि प्रमाण लुकाउन नरेशले शव टुक्राटुक्रा पारेको र विभिन्न स्थानमा फालेको जिकिर गरेको थियो।
डिजिटल खोज र रगतका प्रमाण
सुनुवाइका क्रममा अभियोजन पक्षले नरेशको इन्टरनेट खोज इतिहास पनि अदालतमा प्रस्तुत गरेको थियो। त्यसमा पत्नी बेपत्ता भएमा के हुन्छ, सम्बन्धविच्छेद गर्न सकिन्छ कि सकिँदैन, मासु काट्ने औजार, चक्कु र हातले चलाउने आरालगायत विषयमा गरिएका खोज समावेश थिए।
त्यसैगरी एक वर्षकी छोरीलाई साथीलाई दिन सकिन्छ कि भन्ने आशयको खोज पनि भेटिएको अभियोजन पक्षले जनाएको थियो।
घरको शयनकक्ष र बाथरुमबाट रगतका सम्भावित दाग भेटिएको तथा प्रहरीले अनुसन्धानका क्रममा आरामा रगत र कपालका अंश रहेको दाबी गरेको थियो। नरेशले प्रयोग गरेको टेस्ला गाडी र विभिन्न फोहोर फाल्ने स्थानका निगरानी दृश्य पनि जुरीलाई देखाइएको थियो।
नरेशले पत्नी बेपत्ता भएको जानकारी छिमेकीहरूलाई नदिएको, ममता काममा गएको भन्दै विभिन्न व्यक्तिलाई फरक–फरक विवरण दिएको र उनको खोजीका लागि आफैँले सक्रियता नदेखाएको विषयमा पनि साक्षीहरूले बयान दिएका थिए।
बचाउ पक्षको आत्महत्याको दाबी
बचाउ पक्षले भने ममताले आत्महत्या गरेको र नरेशले शव भेटेपछि आत्तिएर त्यस्तो कदम चालेको तर्क गरेको थियो। अभियोजन पक्षले हत्याको प्रत्यक्ष प्रमाण प्रस्तुत गर्न नसकेको र परिस्थितिजन्य प्रमाणका आधारमा मात्रै दोषी ठहर गर्न नमिल्ने बचाउ पक्षको जिकिर थियो।
बचाउ पक्षबाट बोलाइएका क्लिनिकल फरेन्सिक मनोवैज्ञानिक ब्यारी रोजेनफेल्डले नरेशमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) का लक्षण देखिएको बताएका थिए। उनले कुनै दुःखद घटना देख्दा व्यक्ति आत्तिनु अस्वाभाविक नभए पनि त्यसपछि शव हटाउने निर्णय र त्यसका लागि चालिएका कदमलाई अलग रूपमा हेर्नुपर्ने बताएका थिए।
नरेशले अदालतमा ममताप्रति आफूले भावनात्मक रूपमा राम्रो व्यवहार नगरेको स्वीकार गर्दै त्यसप्रति पछुतो व्यक्त गरेका थिए।
ममताकी आमाले अदालतमा दिएकी थिइन् बयान
मुद्दाको सुनुवाइका क्रममा ममताकी आमा गीता काफ्लेले पनि अदालतमा भावुक हुँदै बयान दिएकी थिइन्। नेपालमा रहँदा छोरीसँग दैनिक दुईदेखि तीन पटकसम्म फेसबुक मेसेन्जरमा भिडियो कुराकानी हुने गरेको उनले बताएकी थिइन्। पाँच दिनसम्म छोरीसँग सम्पर्क नभएपछि ज्वाइँ नरेशसँग सम्पर्क गरेको र उनले पनि स्पष्ट जानकारी नदिएको उनको भनाइ थियो।
ममताका साथीभाइ, सहकर्मी र परिवारका सदस्यहरूले पनि अदालतमा बयान दिएका थिए। उनीहरूले ममता आफ्नो एक वर्षकी छोरीको भविष्यप्रति चिन्तित रहेको र वैवाहिक सम्बन्धमा समस्या भोगिरहेको बताएका थिए।
ममता सन् २०२४ अगस्ट १ मा भर्जिनियास्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा काममा नआएपछि उनका सहकर्मीले घरमा खबर गरेका थिए। त्यसपछि परिवार र साथीहरूले उनको खोजी सुरु गरेका थिए। प्रहरीले अगस्ट ५ मा उनलाई बेपत्ता व्यक्तिका रूपमा दर्ता गरेको थियो।
अगस्ट २२, २०२४ मा नरेशलाई पक्राउ गरिएको थियो। त्यसयता उनी धरौटीबिना हिरासतमा थिए।
नरेशलाई दोषी ठहर गरिए पनि सजाय निर्धारणको प्रक्रिया भने बाँकी छ।


















