लक्ष्मी जयन्तीका अवसरमा ह्यारिसबर्गमा कविता वाचन प्रतियोगिता, कौस्तुव रिजाल प्रथम
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / त्रिवेणी साहित्य मञ्चले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसर पारेर पेन्सिल्भेनियाको ह्यारिसबर्गमा कविता वाचन प्रतियोगितासहित विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
शनिवार ह्यारिसबर्गस्थित हिमालयन तेक्वान्दोको हलमा आयोजित कार्यक्रममा बालबालिकाबीच कविता वाचन प्रतियोगिता, मौलिक देउसी भैलो तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।
बालबालिकाको नेपाली भाषा, साहित्य र सिर्जनात्मक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १८ जना बालबालिकाले सहभागिता जनाएका थिए।
प्रतियोगितामा कौस्तुव रिजाल प्रथम भए। उनले वेदप्रसाद रिजालद्वारा रचित ‘बालबालिका’ शीर्षकको कविता वाचन गरेका थिए। त्यसैगरी मधु घिमिरेद्वारा रचित ‘सफल जीवन’ कविता वाचन गर्ने दिव्य घिमिरे दोस्रो र मोहन सिटौलाद्वारा रचित ‘बाला फूलका माला’ कविता वाचन गर्ने हिमाक्षी धिताल तेस्रो भए।
त्यस्तै, सलिन विष्टद्वारा रचित ‘कोपिला हामी’ कविता वाचन गर्ने हिमाशी धिताल र तिलारुपा आचार्य (अधिकारी) द्वारा रचित ‘मेरो दुनियाँ’ कविता वाचन गर्ने सुप्रिया गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको निर्णायकमा कवि हरि फुयाँल र नारद अधिकारी रहेका थिए।
विजेता तथा उप विजेतालाई कार्यक्रमका प्रमुख अतिथि डा. तुलाराम न्यौपाने, भुट्नीज कम्युनीटी अफ सेन्टर पेन्सिल्भेनिया बीसीसीपीएकी अध्यक्ष निशा गुरुङ, कार्यक्रमका सभापति प्रेम घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा विजेता तथा सहभागी बालबालिकालाई कवि गण्डकीपुत्रले नेपाली भाषाका पुस्तक वितरण गरेका थिए। उनले नेपाली भाषा र साहित्यप्रतिको रुचि बढाउन मञ्चले आयोजना गर्ने यस्ता कार्यक्रममा हरेक वर्ष ५० थान पुस्तक उपलब्ध गराउने घोषणा समेत गरे।
कार्यक्रममा बालबालिकाले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। कविता वाचन प्रतियोगितापछि सहभागीहरूले मौलिक देउसी भैलो खेलेर नेपाली संस्कृतिको झल्को दिएका थिए। प्रवासमा हुर्किरहेका बालबालिकालाई नेपाली चाडपर्व, भाषा र संस्कृतिसँग जोड्ने उद्देश्यले देउसी भैलो कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएको छ।
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते काठमाडौंमा भएको थियो। नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका प्रमुख प्रवर्तक मानिने देवकोटाले कविता, निबन्ध, नाटक र महाकाव्यलगायत विधामा महत्वपूर्ण योगदान दिएका छन्।
‘मुनामदन’ उनको सर्वाधिक लोकप्रिय कृतिमध्ये एक हो। ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भन्ने सन्देश बोकेको यस कृतिले नेपाली समाजमा मानवीयता, प्रेम र समानताको भाव फैलाएको छ। ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’ र ‘पागल’ उनका चर्चित साहित्यिक सिर्जना हुन्।
देवकोटाले नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको समृद्ध माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। उनको जन्मजयन्तीलाई नेपाल तथा विदेशमा रहेका नेपाली साहित्यिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्।
त्रिवेणी साहित्य मञ्चले पनि हरेक वर्ष देवकोटा जयन्तीका अवसरमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ।


















