पेन्सिल्भेनियामा उद्धार गरिएका कुकुरलाई सम्मान गर्दै सामूहिक कुकुर तिहार
मिडलटाउनस, पेन्सिल्भेनिया / नेपाली संस्कृतिमा तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारलाई नेपाली भाषी समुदायले अमेरिकामा पनि फरक र विशेष ढंगले मनाएको छ।
पेन्सिल्भेनियाको मिडलटाउनस्थित ओल्ड रिलायन्स फार्म्स पार्कमा क्रियामण फाउन्डेसनअन्तर्गतको युवा संस्था ‘वाइफोरसी’ ले सामूहिक कुकुर पूजा कार्यक्रम आयोजना गरेको हो।
‘हाम्रा वफादार मित्रहरूको सम्मान गर्दै’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा यस वर्ष विशेषगरी उद्धार गरिएका र नयाँ परिवार पाएका कुकुरहरूलाई सम्मान गरिएको थियो। नेपाली भाषी समुदायका साथै अन्य समुदायका सदस्यहरू आफ्ना कुकुरसहित कार्यक्रममा सहभागी भएका थिए। सहभागीहरूले कुकुरलाई माला लगाइदिने, टीका लगाउने, खानेकुरा खुवाउने र दियो बालेर पूजा गरेका थिए।
कुकुर तिहार नेपाली हिन्दू संस्कृतिमा कुकुरप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने पर्व हो। यमपञ्चक अर्थात् तिहारका पाँच दिनमध्ये दोस्रो दिन कुकुरको पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत तथा मानिसको वफादार साथीका रूपमा लिइन्छ। कुकुरको निष्ठा, सुरक्षा र सहयोगप्रति सम्मान व्यक्त गर्दै यस दिन फूलमाला, टीका र मीठा परिकार दिएर पूजा गर्ने परम्परा छ।
यस वर्षको कार्यक्रमलाई अझ अर्थपूर्ण बनाउँदै आयोजकले किनिएका वा घरपालुवा कुकुरभन्दा उद्धार गरिएका र नयाँ घर पाएका कुकुरलाई प्राथमिकता दिएका थिए। बेवारिसे तथा आश्रयस्थलमा रहेका कुकुरको अवस्थाबारे सचेतना फैलाउनु पनि कार्यक्रमको उद्देश्य थियो।
कार्यक्रममा सहभागी महिला कैथीले आफू दोस्रो वर्ष कार्यक्रममा सहभागी भएको बताइन्। संस्थाले निमन्त्रणा गरेपछि आफूहरू कुकुरसहित कार्यक्रममा आउन थालेको बताउँदै उनले भनिन्, “हाम्रा कुकुरलाई पनि आशीर्वाद चाहिन्छ। यहाँ निमन्त्रणा गरेर माया र आत्मीयता दिएकोमा हामी आभारी छौँ।”
उनका अनुसार कार्यक्रममा कुकुरको स्वास्थ्य, व्यवहार र समग्र कल्याणका लागि आशीर्वाद दिने अवसर मिलेको छ। छिमेकीहरूसँग भेटघाट र सामूहिक प्रार्थनाले पनि कार्यक्रमलाई विशेष बनाएको उनले बताइन्।
अमेरिकी समाजमा कुकुरलाई माया गर्ने चलन भए पनि नेपाली शैलीमा फूलमाला लगाएर, टीका लगाई खानेकुरा दिएर पूजा गर्ने विशेष दिन नरहेको कैथीको भनाइ थियो। “हामी कुकुरलाई हरेक दिन माया गर्छौँ, खाना दिन्छौँ। तर यसरी फूलमाला र आशीर्वादसहित सम्मान गर्ने विशेष दिन हाम्रो संस्कृतिमा छैन। त्यसैले यो कार्यक्रम हाम्रा लागि विशेष छ,” उनले भनिन्। उनले नेपाली समुदायले उपलब्ध गराएको यस्तो अवसर आफूलाई निकै मन परेको पनि बताइन्।
कार्यक्रमको आयोजनामा सक्रिय भूमिका निर्वाह गरेकी क्रियामण फाउन्डेसनकी फेमिली एन्ड कम्युनिटी वेल बिइङ डाइरेक्टर,एमी विमर्सबर्गर आफूले चार दशकभन्दा बढी समयदेखि बेवारिसे र उद्धारको आवश्यकता भएका कुकुरहरूको संरक्षणमा काम गर्दै आएको बताइन्।
“४० वर्षभन्दा बढी समयदेखि म बेवारिसे, घरबारविहीन र आश्रयस्थलमा ठाउँ नपाएर मारिनुपर्ने अवस्थामा पुगेका कुकुरहरूको उद्धार गर्दै आएकी छु। त्यसैले यो कार्यक्रम मेरा लागि निकै महत्त्वपूर्ण छ,” उनले भनिन्।
उनका अनुसार क्रियामण फान्डेशनका सिइयो भरत तिम्सिनासँग पहिलो भेट हुँदा उनले आफ्नी आमाले एमीको कालो कुकुरलाई ४० दिनसम्म खाना खुवाउन सक्छिन् कि भनेर सोधेका थिए। त्यही भेटबाट नेपाली संस्कृति, दिवाली र कुकुर तिहारबारे आफूले जान्ने अवसर पाएको उनले बताइन्।
एमीले यस कार्यक्रमलाई चार वर्षदेखि निरन्तरता दिँदै आएको बताउँदै हरेक वर्ष उद्धार गरिएका कुकुरलाई सहभागी गराउने प्रयास गर्ने गरेको जानकारी दिइन्। पहिलो वर्ष आफू एक्लैले सुरु गरेको यो अभियान अहिले सामुदायिक कार्यक्रमका रूपमा विस्तार भएको उनको भनाइ छ।
“हामीले मानिसहरूले किनेर ल्याएका कुकुरभन्दा उद्धार गरिएका कुकुरलाई प्राथमिकता दिन्छौँ। मेरो चाहना धेरैभन्दा धेरै मानिस आफ्ना कुकुरसहित आएर यो पर्व मनाऊन् भन्ने हो,” उनले भनिन्।
आफ्ना छिमेकी, साथी र दौडने समूहका सदस्यहरूलाई समेत निमन्त्रणा गरेको बताउँदै एमीले आफूले उद्धार गरेर नयाँ घर दिलाएको एउटा कुकुरलाई पनि कार्यक्रममा ल्याएको सुनाइन्। नेपाली भाषी समुदायसँग मिलेर अमेरिकामै यस्तो परम्परा मनाउन पाउनु आफूहरूका लागि विशेष अनुभव भएको उनले बताइन्।
संस्कृतिको संरक्षण र समुदायबीच एकीकरण
क्रियामण फाउन्डेसनका सिइयो तिम्सिनाले कुकुर तिहार कार्यक्रम संस्कृतिको संरक्षणसँगै अमेरिकी समुदायसँग नेपाली संस्कृतिका राम्रा पक्ष साझा गर्ने उद्देश्यले आयोजना गरिएको बताए।
उनका अनुसार फाउन्डेसनले समुदायमा विभिन्न कार्यक्रममार्फत संस्कृति संरक्षण र सामाजिक सेवाका गतिविधि गर्दै आएको छ। ‘सेवा नै धर्म हो’ भन्ने मान्यतासँग जोडेर कुकुर तिहारलाई पनि सामुदायिक सेवाको एउटा अवसरका रूपमा लिइएको उनले बताए।
“हाम्रो संस्कृति कसरी जोगाउन सकिन्छ र त्यसलाई अमेरिकन समुदायसम्म कसरी पुर्याउन सकिन्छ भन्ने हाम्रो प्रयास हो। हाम्रा आमा-बुवा र बालबालिकाले आफ्नो संस्कृति मनाउँदै यहाँका अन्य समुदायसँग सद्भाव बाँड्न सकून् भन्ने उद्देश्य छ,” तिम्सिनाले भने।
उनले कुकुर तिहारलाई नेपाली समुदाय र अमेरिकी समाजबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा समेत व्याख्या गरे।
“हामीले हाम्रो संस्कृतिका राम्रा पक्ष अमेरिकी समाजसँग कसरी साझा गर्न सक्छौँ र यहाँको समुदायमा कसरी एकीकृत हुन सक्छौँ भन्ने सोचका साथ यो कार्यक्रम गरेका हौँ,” उनले भने।
कार्यक्रममा नेपाली भाषी सहभागीभन्दा अमेरिकी समुदायका सदस्यहरूको उपस्थिति बढी रहेको उल्लेख गर्दै तिम्सिनाले फाउन्डेसनको दृष्टिकोणबाट हेर्दा यो कार्यक्रम संस्कृति संरक्षणसँगै समुदायबीच एकीकरणको उदाहरण बनेको बताए।
कार्यक्रममा क्रियामण फाउन्डेसनकी परियोजना संयोजक प्रकृति शर्माले तिहार र कुकुरका बारेमा प्रस्टाएकी थिइन् ।


















