पेन्सिल्भेनियाका गभर्नरद्वारा तिहार, दीपावली र बन्दी छोड दिवसको शुभकामना
ह्यारिसबर्ग , पेन्सिल्भेनिया / पेन्सिल्भेनियाका गभर्नर जस सापिरोले राज्यमा बसोबास गर्ने हिन्दु, जैन र सिख समुदायलाई तिहार, दीपावली तथा बन्दी छोड दिवसको शुभकामना दिएका छन्।
गभर्नरले सापिरोले शुक्रवार सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको शुभकामना सन्देशमा यी पर्वले असत्यमाथि सत्य, अन्धकारमाथि प्रकाश र अज्ञानतामाथि ज्ञानको विजयको सन्देश दिने उल्लेख गरेका छन्।
उनले यी पर्वलाई एकता, करुणा र आपसी स्वीकार्यताको उत्सवका रूपमा व्याख्या गरेका छन्। यस्ता मूल्य मान्यता पेन्सिल्भेनियाका संस्थापक विलियम पेनले ३४४ वर्षअघि राज्यको आधार निर्माण गर्दा आत्मसात् गरेका आदर्शसँग पनि मेल खाने उनको भनाइ छ।
उनले ती मूल्यहरू आज पनि पेन्सिल्भेनियालाई मार्गदर्शन गरिरहेको उल्लेख गर्दै पर्व मनाउने सबैलाई शुभकामना दिएका छन्।
गभर्नरले आफ्नी पत्नी लोरीसहित सबैलाई प्रकाशको पर्व उल्लासमय र सुखद् रहोस् भन्ने कामना गरेका छन्।
पाँच दिनसम्म मनाइने तिहार शनिवार देखि शुरु
यस वर्षको तिहार नोभेम्बर ७ तारिख शनिवार देखि ११ तारिख बुधवार सम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइँदैछ। धनतेरस तथा धन्वन्तरि जयन्तीबाट पर्वको सुरुवात भएको छ भने नोभेम्बर ७ मा काग तिहार मनाइनेछ।
नोभेम्बर ८ मा कुकुर तिहार र लक्ष्मीपूजा, नोभेम्बर ९ मा गाई तिहार तथा नोभेम्बर १० मा गोरु तिहार, गोवर्धन पूजा र नेवार समुदायको म्हः पूजा मनाइनेछ। नोभेम्बर ११ मा भाइटीका र नेवार समुदायको किजा पूजा मनाइएसँगै यस वर्षको तिहार समापन हुनेछ।
तिहार नेपाली हिन्दु समुदायको दसैँपछिको अर्को प्रमुख पर्व हो। यसलाई यमपञ्चक पनि भनिन्छ। पाँच दिनसम्म काग, कुकुर, गाई, गोरु तथा प्रकृतिको पूजा गरिनुका साथै धनकी देवी लक्ष्मीको आराधना गरिन्छ।
लक्ष्मीपूजाका दिन घरघरमा दीप प्रज्वलन गरी फूलमाला र बत्तीले सजाउने, देउसी–भैलो खेल्ने तथा धनधान्य र समृद्धिको कामना गर्ने परम्परा छ। अन्तिम दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिन्छन्।
तिहारले परिवार, दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धसँगै मानव र पशुपक्षीबीचको आत्मीयता र प्रकृतिप्रतिको सम्मानलाई पनि जोड्ने सांस्कृतिक महत्त्व बोकेको छ।
नेपालमा मात्र नभई अमेरिकासहित विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले पनि तिहारलाई सांस्कृतिक पहिचान, पारिवारिक मिलन र सामुदायिक एकताको पर्वका रूपमा मनाउँदै आएका छन्।


















