अमेरिकी भिसा आवेदकलाई सामाजिक सञ्जाल सार्वजनिक राख्न दूतावासको पुनः आग्रह
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपालस्थित अमेरिकी दूतावासले विभिन्न गैर आप्रवासी भिसाका आवेदकलाई आफ्ना सामाजिक सञ्जाल प्रोफाइल सार्वजनिक राख्नुपर्ने व्यवस्थाबारे पुनः स्मरण गराएको छ।
दूतावासले शुक्रवार सार्वजनिक गरेको सूचनामा अक्टोबर १, २०२६ देखि विदेशी सञ्चारमाध्यमका प्रतिनिधि (आई), दक्ष पेशाकर्मी (एनटी) र उनीहरूका आश्रित परिवारका सदस्य (टीडी) भिसाका आवेदकलाई समेत अनलाइन उपस्थिति जाँचको दायरामा समेटिएको जानकारी दोहोर्याएको छ।
यसअघि सेप्टेम्बर १८ मा अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेको यो व्यवस्था अक्टोबर १ देखि कार्यान्वयनमा आएको हो।
अमेरिकी विदेश मन्त्रालयले गैर आप्रवासी भिसा आवेदकहरूको सामाजिक सञ्जाल तथा अनलाइन गतिविधिसम्बन्धी जाँचको दायरा विस्तार गरेको छ। अक्टोबर १, २०२६ देखि लागू हुने गरी विदेशी सञ्चारमाध्यमका प्रतिनिधि, दक्ष पेशाकर्मी तथा उनीहरूका आश्रित परिवारका सदस्यले आवेदन दिने केही भिसा वर्गलाई समेत यस प्रक्रियामा समेटिएको छ।
नेपालस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको सूचनाअनुसार अब आइ, टीएन र टीडी भिसाका आवेदकले पनि आफ्ना सबै सामाजिक सञ्जाल प्रोफाइलको गोपनीयता सेटिङ ‘पब्लिक’ वा ‘ओपन’ राख्नुपर्नेछ।
कुन–कुन भिसा प्रभावित हुन्छन्?
विदेश मन्त्रालयको सेप्टेम्बर १८ मा प्रकाशित घोषणाअनुसार यसअघि नै विभिन्न भिसा वर्गका आवेदकको अनलाइन उपस्थिति जाँच हुँदै आएको थियो। नयाँ व्यवस्थासँगै यसको दायरा थप विस्तार भएको छ।
प्रभावित भिसा वर्गहरूमा पत्रकार तथा सञ्चारकर्मी, दक्ष पेशाकर्मी र उनीहरूका आश्रितका लागि, विद्यार्थी, अस्थायी कामदार तथा प्रशिक्षार्थी, एक्सचेन्ज कार्यक्रमका सहभागी, विवाहका लागि अमेरिका आउने तथा आश्रित, सांस्कृतिक आदानप्रदान, धार्मिक क्षेत्रमा काम गर्ने, कूटनीतिक तथा आधिकारिक सेवासम्बन्धी र घरेलु कामदार रहेका छन् ।
सामाजिक सञ्जाल सार्वजनिक राख्नुपर्ने
नयाँ व्यवस्थाअनुसार प्रभावित भिसा वर्गमा आवेदन दिने व्यक्तिले फेसबुक, इन्स्टाग्राम, एक्सलगायत आफ्ना सबै सामाजिक सञ्जाल प्रोफाइलको गोपनीयता सेटिङ सार्वजनिक अर्थात् ‘पब्लिक’ वा ‘ओपन’ राख्नुपर्नेछ।
विदेश मन्त्रालयका अनुसार आवेदकको पहिचान, अमेरिकामा प्रवेशका लागि योग्यता र सम्भावित सुरक्षा जोखिमबारे मूल्याङ्कन गर्न उपलब्ध सबै सूचना स्रोतको प्रयोग गरिनेछ। यसमा अनलाइन उपस्थितिसम्बन्धी जानकारी पनि समावेश हुन्छ।
मन्त्रालयले राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षामा जोखिम हुन सक्ने व्यक्तिको पहिचान गर्नु भिसा जाँचको प्रमुख उद्देश्य रहेको जनाएको छ। आवेदकले आफूले माग गरेको भिसाका लागि योग्य रहेको र अमेरिकामा प्रवेश पाएपछि भिसाका सर्त पालना गर्ने वास्तविक मनसाय रहेको पुष्टि गर्नुपर्ने पनि मन्त्रालयको भनाइ छ।
भिसा पाउनु अधिकार होइन, सरकारी निर्णय
अमेरिकी विदेश मन्त्रालयले भिसा जारी गर्ने निर्णयलाई राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषयका रूपमा व्याख्या गरेको छ। अमेरिकाको हितमा खतरा पुर्याउन सक्ने वा अमेरिकी नागरिकलाई हानि पुर्याउने मनसाय भएका व्यक्तिलाई प्रवेश अनुमति नदिने उद्देश्यले जाँच प्रक्रियालाई कडा बनाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अमेरिकी भिसा पाउनु आवेदकको स्वतः प्राप्त हुने अधिकार नभई सरकारको विवेकाधीन निर्णयबाट प्रदान गरिने सुविधा हो।


















